हिमाल दैनिक
वर्षातका कारण चितवनमा एक लाख २८ हजार ६६५ जना प्रभावित हुने अनुमान
chitwan-badi
वर्षातका कारण चितवनमा एक लाख २८ हजार ६६५ जना प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको बैठकले सातवटा स्थानीय तहमा गरी सो संख्यामा जनता प्रभावित हुने अनुमान गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लामा वर्षातका कारण ८८ स्थानमा कटान र ७१ स्थानमा डुबान हुने अनुमान गरिएको छ । यसले २५ हजार ७३३ घर परिवार प्रभावित हुने उनले बताए । माडी नगरपालिकामा–९ स्थानमा कटान र ११ स्थानमा डुबान हुँदा तीन हजार ९४६ घरधुरीमा रहेका १९ हजार ७३० प्रभावित हुने अनुमान गरिएको छ । यस्तै कालिका नगरपालिकामा पाँच स्थान कटान, ६ स्थान डुबानमा पर्दा एक हजार पाँच घरधुरीका पाँच हजार २५, रत्ननगरको ८ स्थान कटान र १० स्थान डुबानमा पर्दा दुई हजार ३८१ घरधुरीका ११ हजार ९०५ प्रभावित हुने अनुमान गरिएको छ । खैरहनी नगरपालिकाको २ स्थान कटान र ७ स्थान डुबानमा पर्दा ३२० घरधुरीका एक हजार ६००, राप्ती नगरपालिकामा ३० स्थान कटान र ९ स्थान डुबानमा पर्दा १० हजार १९० परिवारका ५० हजार ९५०, भरतपुर महानगरपालिकाको २८ स्थान डुबानमा र १६ स्थान कटानमा पर्दा ६ हजार ६३५ परिवारका ३३ हजार १७५ जना प्रभावित हुने अनुमान विपद् व्यवस्थापन समितिले गरेको छ । इच्छाकामना गाउँपालिकामा १८ स्थानमा कटान हुँदा एक हजार २५६ परिवारका ६ हजार २८० प्रभावित हुने स्थानीय तहले संकलन गरेको तथ्यांकमा उल्लेख छ । यसबाट बच्नका लागि सम्भावित क्षेत्रका जनतालाई अग्रिम जानकारी गराउने, सार्वजनिक स्थानको खोजी गर्ने, उद्धारका लागि हेलिकप्टर बस्न सक्ने स्थानको पहिचान गर्ने, उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने जस्ता काम भइरहेको भट्टराईले बताए ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update