मेजर दिपक गुरुङको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
                        
                        
                                                
                                            
                                                
                        नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधनलाई स्तब्ध बनाएको बताएका छन्।
पूर्व सांसद गुरुङको शुक्रबार अपरान्ह उपचारका क्रममा राजधानीकै नर्भिक अस्पतालमा निधन भएको खबरले आफू दुःखी भएको बताएका छन्।
गुरुङको निधनको खबर आएलगत्तै शोक वक्तव्य मार्फत सभापति देउवाले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका मेजर गुरुङको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु। साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।
वि.सं. १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मिएका गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर हुन्। उनी तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गरेका थिए।
लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित रहेका गुरुङले व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनहरुको उनी एक नेतृत्वकर्ता समेत थिए।
स्वर्गीय गुरुङ नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष रहेका थिए। उनको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

