वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा भएको सर्वपक्षिय छलफलका क्रममा रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको हो ।
सहमतिअनुसार रातो मच्छिन्द्रनाथ रथ राखिएको स्थानमा क्षमा पूजा गरिने , भाद्र २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तानिने भएको छ । त्यस्तै भाद्र २२ गते साइत हेर्ने र २६ गते भित्र मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने तय भएको छ । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।
कुनै अप्रिय घटना हुन नदिन ललितपुर प्रशासनले ललितपुर महानगरभित्र कर्फ्य जारी गरेको छ भने रातो मच्छिन्द्रनाथको रथ वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
कर्फ्यूका कारण जनजिवन प्रभावित
जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यू आदेशका कारण ललितपुर महानगरभित्रको जनजिवन पूर्णरुपमा प्रभावित भएको छ ।
कर्फ्यू आदेशका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरुपमा निषेध गरिएको छ भने चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । महानगरभित्र अत्यावश्येकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबार बिहान ४ देखि राति १० बजेसम्मका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो । कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो । स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । सो क्रममा झडप भएपछि शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय