सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध
                        
                        
                                                
                                             
                                                
                        काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी/पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ।
विभिन्न प्रविधिको माध्यामबाट सूचना पठाएर तथा फोनमार्फत् नै सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्वसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।
उनका अनुसार अबको केही दिन मुलुकभर नै वर्षा हुनेछ। केही स्थानमा भारी वर्षासमेत हुने र धेरै स्थानका नदी तथा खोलामा सतह बढ्ने छ। त्यसैले यो अवस्थामा बाढी पहिरोको घटना हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण बुधबार कन्काइ, बाग्मती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाव आउने देखिएको छ।
प्राप्त विवरणअनुसार इलाम झापा, मोरङ्, सुनसरी, धनकुटा, भोजपुर, गोरखा, लम्जुङ्, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ्, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम प्यूठान, दाङ जिल्ला उच्च जोखिम रहेको जनाइएको छ।
सोही क्षेत्रमा उच्च सावधानी अपनाउन र अन्य क्षेत्रमा समेत सावधानी अपनाउन भनिएको प्राधिकरणले जनाएको छ। मौसम विज्ञान विभागका अनुसार अहिले मुलुकका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। यो क्रम राति समेत जारी रहने जनाइएको छ।
मङ्गलबारदेखि नै देशका सबै नदीमा बहाव बढ्दो रहेको र असोज ७-१० गते देशै भरका नदीमा बहाव उच्च हुने अनुमान गरिएको छ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    