प्रम ओलीले बिधान विपरित स्थगित गरेपछि, अब बैठकको जिम्मा अध्यक्ष दाहाललाई दिने निर्णय
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ओलीइतर समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीले पार्टी स्थायी कमिटी बैठक स्थगित गर्नु पार्टी विधानविपरीत भएको निष्कर्ष निकालेको छ ।
बालुवाटारमा बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता सहभागी स्थायी कमिटीले एकलौटीरुपमा विधि विपरीत ओलीले स्थगित गरेको निष्कर्ष निकालेको हो । बैठकले अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटीको बैठक स्थगित गरेको ठहर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठक सुरुअघि अध्यक्ष ओलीलाई बोलाउन पुगेका प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई ओलीले आफूले बैठक स्थगित गरेकाले उपस्थित नहुने जवाफ दिएको प्रवक्ता श्रेष्ठले बताए । बैठक यसअघि तोकिएको बैठककै निरन्तरता भएको र एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको उनले बताए ।
पार्टी एकतामा देखिएको संकटलाई निकास दिन धैर्य र विवेकपूर्ण तरिकाले अघि बढ्ने निष्कर्षमा पनि आफूहरू पुगेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले हरहालतमा एकताको रक्षा गर्ने पक्षमा रहेको र हतारमा छिटो–छिटो निर्णय गर्न नचाहेको पनि बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए । नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई आघात पर्ने कुनै पनि काम गर्न नहुने धारणा राखेका राखेका थिए ।
त्यस्तै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई मजबुद् बनाउन आफूले दिएका ६ बुँदे सुझावअनुसार अघि बढ्नु पर्ने बताएका थिए । एक महिनाअघि सुरू भएको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो विवाद चुलिदै गएको हो ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय