हिमाल दैनिक
कांग्रेसका अपदस्त सभापति देउवा पक्षको अधिवेशन पनि खुल्लामञ्च र भृकुटीमण्डपमा
file photo

अपदस्त सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनको लागि खुल्लामञ्च टुंडिखेलमा गर्ने निर्णय गरेको छ। 
महाधिवेशन तयारी समितिका कार्यालय प्रमुखका रुपमा क्रियाशील नेता दिपक कुइकेलका अनुसार, पार्टीको केन्द्रीय अधिवेशनको उद्घाटन सत्र खुल्लामञ्चमा गर्ने निर्णय गर्दै स्थान बुक गर्ने कार्य भइसकेको छ। 

आगामी मंसिर २१ देखि २३ गते सम्पन्न गरिने महाधिवेशनका लागि खुल्लामञ्चसँगै प्रतिनिधिहरुको खाना र निर्वाचन प्रक्रिया संचालनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डप पनि बुक गरिएको उनले बताए।

देशकै पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको करिब ५ वर्षअघि सम्पन्न १४औं महाधिवेशनबाट विधिवत निर्वाचित सभापति देउवालाई तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाईमा ०८२ भदौ २३–२४ गतेको नवयुवाको आन्दोलनको आडमा भएको विद्रोहकै आडमा अपदस्त गर्ने प्रक्रियाको प्रारम्भ भएको थियो।

पार्टी विधान र निर्णयविना नै महामन्त्रीद्वय थापा र शर्माले गत वर्षको पुस अन्तिम साता भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिको भेला बोलाइएको भन्दै उक्त भेलाबाट १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित उनको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई उर्दीकै भरमा विघटनको घोषणा गरेको थियो।

त्यसका अतिरिक्त उक्त भेलाले तत्कालीन महामन्त्री थापालाई सभापति भएको भन्दै नयाँ कार्यसमिति पनि बनाएर निर्वाचन आयोगमा बुझाएको थियो। जसलाई तत्कालीन निर्वाचन आयोगमा रहेका तीनमध्ये एक आयुक्तको गम्भीर आपत्तिका बाबजूद वैधानिकता दिने कार्य भएको थियो।
उक्त विषयलाई अपदस्त गरिएको भनिएका देउवा समूहले सर्वोच्च अदालतमा न्यायिक निरुपणको निवेदन दिँदा आसन्न निर्वाचनको मिति र त्यसमा पर्नसक्ने प्रभावलाई ध्यान दिएर आयोगकै निर्णयलाई सदर गरिदिएको थियो।

फागुन २१ गतेको निर्वाचन अवधिभर आन्तरिक विवाद र मतभेदबारे मौन रहेको देउवा र उनी पक्षका नेता, कार्यकर्ताले निर्वाचनमा व्यहोर्नु परेको लज्जास्पद पराजयको मुख्य कारक तत्कालीन महामन्त्रीद्वयले चालेको कदम भन्दै पार्टीको नियमित महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णयका साथ अघि बढेको थियो।

त्यहि क्रममा देउवा र उनको पक्षका नेताहरुले आयोगको निर्णय अनुमोदन गर्ने अदालतको संयुक्त इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएकोमा गत साउन २१ गते सर्वोच्च अदालतको संयुक्त इजलासले आयोगको निर्णय प्रक्रियामा त्रुटि देखाउँदै प्रारम्भिक विन्दुबाटै पुनः सुनुवाई गर्ने आदेश दिएको थियो।

यसका बाबजूद पनि थापा र शर्मा नेतृत्वको कांग्रेस–२ समूहले पार्टीको १५औं महाधिवेशन असोज १८ गतेदेखि गर्ने भन्दै छोटो प्रक्रियाबाट महाधिवेशन सम्पन्न गरेको थियो।

उक्त समूहले अघि बढाएको अधिवेशनको प्रक्रियाले अदालतमा विचाराधिन विषयलाई प्रभावित पार्न सक्ने भन्दै देउवा पक्षले अदालतमा निवेदन दिएपनि अदालतले कुनै आदेश नदिएपछि दुबै पक्षले बेग्लाबेग्लै ढंगले अधिवेशनको तयारीलाई अघि बढाएका थिए।

अधिवेशन सम्पन्न गराउने प्रक्रियालाई सहज ढंगले अघि बढाउन देउवा पक्षले पार्टी ेनेता शशांक कोइरालाको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गर्दै असोज १५ गतेदेखि सुरु गरेको वडादेखि क्रमशः स्थानीय, प्रदेश, क्षेत्र र जिल्ला तहको अधिवेशन प्रक्रिया हालसम्म पनि जारी राखेको छ। 

उक्त पक्षले कार्तिक १५ गते क्षेत्रको अधिवेशन गर्दै मंसिर ४ गते प्रदेश अधिवेशन गर्दै मंसिर २१ गतेदेखि पार्टीको १५औं महाधिवेशनबाट नयाँ नेतृत्वसँगै पार्टीको नयाँ कार्यनीति तयार गर्दैछ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३