हङकङमा उपचाररत नेपाली कांग्रेसका अपदस्त सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर स्वदेश फर्किने घोषणा गरेका छन्।
गत वर्षको भदौ २४ गते (जेनजी) नवयुवाहरुको हिंसात्मक विद्रोहका क्रममा आफ्नै निवासमा श्रीमती आरजु राणा देउवासहित मरणासन्न हुनेगरी भौतिक आक्रमणमा परेपछि स्वास्थ्य समस्या झेल्दैआएका देउवा गत फागुनको सुरुवातमा उपचारका लागि सिंगापुर हुँदै हंङकङ पुगेका थिए।
हङकङमा रहेका देउवाको स्वदेश फिर्ताको विषयमा नेपाली मिडिया र सामाजिक संजालमा अनेक अडकलबाजी भइरहेकै बेला साउन ६ गते बीपी स्मृति दिवसको सन्दर्भमा विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।
तत्कालीन निरंकुश राजतन्त्रात्मक शासनकालमा आफूविरुद्ध फाँसीसहितका ८ वटा मुद्दा लगेको भएपनि त्यसको प्रवाह नगरी ०३३ साल पुसमा राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्किएका नेता बीपी कोइरालाको नीति सम्झनाका लागि मात्रै नभएर वर्तमान चुनौतीको सामनाका लागि मार्गदर्शन गर्ने जीवित आदर्श भएको भन्दै आफूविरुद्ध हुनसक्ने राज्यको प्रतिशोधपूर्ण व्यवहारबारे पूर्ण जानकार हुँदाहुँदै पनि स्वदेश फर्किन लागेको देउवाले बताएका छन्।
यसअघि सम्पत्ति सुद्धिकरण विभाग र विशेष अदालतलाई पत्र लेख्दै कानूनी प्रक्रियामा सहयोग गर्ने घोषणा गरेको देउवा सरकारको सम्भावित प्रतिशोधको अनुमानसहित स्वदेश फर्किन लागेका हुन्।
उनले भनेका छन्, ‘यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ। तर, म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम, र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पणभाव राख्दछु।’
देउवाले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता, तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एक पटक विश्वास दिलाउँदै म स्वदेश फर्किँदै छु।’
देउवाले गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको र्पष्ठभूमिमा सम्पन्न भएपनि जनताले विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई आफूहरुले सम्मान गर्दै प्रतिपक्षको जिम्मेवार भूमिकाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउने रचनात्मक सहयोग गर्ने भूमिका स्वीकार गरेको बताएका छन्।
यसका बाबजूद वर्तमान राज्यसत्ताको पछिल्लो गतिविधि र रवैयाप्रति उनले गम्भीर विमती जनाएका छन्।
उनले भनेका छन्, ‘तर दुर्भायवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरु तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जन ा गर्ने संकेत देखिन थालेका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिदैछ। यस्तो परिस्थितमिा नेपाली कांग्रेसमाथि केबल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविश्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ।’
आफ्नो सर्वकालीन पदथप्रदर्शकका रुपमा बीपी कोइरालालाई मान्दै आएका देउवाले उनको राष्ट्रिय मेलमिलापको नीतिमार्फत व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र, लोकतन्त्र, राष्ट्रिय एकतालाई सर्वपरि मान्दै स्वदेश फर्किएको इतिहास आज पनि उत्तिकै प्रेरणादायी भएको बताएका छन्।
उनले भनेका छ, ‘त्यो इतिहास केबल सम्झनाका लागि मात्रै होइन, वर्तमान चुनौतीको सामना गर्न मागर्दशन गर्ने जीवित आर्दश पनि हो। प्रजातन्त्र, राष्ट्रियता र समाजवाद साथै राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, सामाजिक न्याय, समानता, समावेशिता र अवसरको समान पहुँच नेपाली कांग्रेसका आदरभूत मूलय र मार्गदर्शक सिद्धान्त हुन्। यी केबल हाम्रो राजनीतिक एजेन्डा मात्रै होइनन्, राष्ट्र निर्माणप्रतिको हाम्रो अट प्रतिबद्धताका आधार पनि हुन्।’
बीपी कोइरालाकै प्रेरणा र विश्वासका साथ आफूले विगत छ दशकभन्दा लामो समय कांग्रेसका साधारण कार्यकर्तादेखि नेतृत्वसम्म पुग्ने यात्राका क्रममा हरेक प्रकारका निरंकुशता अधिनायकवाद र लोकतन्त्रविराधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएको उनले बताएका छन्।
विगतमा आफूले भोगेको जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेकौँ कठिन परिस्थितिका बिच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा आफ्नो अडान कहिल्यै परिवर्तन नभएको उल्लेख गर्दै भनेका छन्, ‘किनकि मेरो विश्वास सधैं एउटै रह्यो– प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदैन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन।’
पछिल्लो समयमा स्वास्थ्य उपचारका लागि परिवारसहित विदेशमा रहेपनि आफ्नो मन, सोच, चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गर्दै पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमलाई गम्भीर चासो र जिम्मेवारीकासाथ नियालीरहको उनले बताएका छन्।
यसका क्रममा फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उनले बताएका छन्।
देउवाले यस्तो प्रवृत्तिको विरोध गर्दै त्यसलाई पराजित गर्नु नै कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार भएको उल्लेख गर्दै भनेका छन्, ‘यस मूल्यमा कुनै पनि प्रकारको सम्झौता विगतमा सम्भव थिएन, आज पनि छैन र भविश्यमा पनि हुने छैन।’
वर्तमान परिस्थितिमा सबै शक्ति र जनतबिच सहमति, सहकाय र दृढ राष्ट्रिय संकल्पको आवश्यकता रहेको उल्लेख गर्दै देउवाले अगाडी भनेका छन्, ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ।’
इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको उर्जा र प्रविधि तथा ज्ञानको सम्पन्न नयाँ पुस्ताको सिजृनशील क्षमताबिच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविश्य हाम्रो साझा संकल्प बन्नु पर्छ।’




