हिमाल दैनिक
१५औं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’मा परिणत गर्ने सम्भावना क्षीण हुँदै गएको देउवा पक्षीय नेताहरुको चिन्ता

नेपाली कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवा पक्षले अहिलेसम्मका गतिविधिहरुका आधारमा पार्टीको १५औं महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा स्थापित हुने सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष निकालेको छ। 

शुक्रबार १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका उपसभापति पूर्णबहादुर खड्काको निवास गल्फुटारमा बसेको उक्त समूहका नेताहरुको बैठकले विशेष महाधिवेशनको भेलाबाट घोषित कांग्रेस–२ का सभापति गगनकुमार थापा पक्ष निरन्तर एकतर्फी ढंगले अघि बढ्न खोजेकाले अहिलेको अवस्थामा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष आफूहरुले निकालेको कांग्रेस नेता मीन बहादुर विश्वकर्माले बताए।

गत भदौ २३ र २४ गतेको नवयुवाहरुको आन्दोलनका क्रममा आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका तत्कालीन सभापति देउवा र उनको परिवारविरुद्ध बनेको माहोललाई केन्द्रमा राखेर तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले गत पुस २७ देखि ३० गतेसम्म भृकुटी मण्डपमा विशेष महाधिवेशनका नाममा भेला गर्दै थापाको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो।

फागुन २१ गतेको आम निर्वाचनपूर्व कांग्रेसभित्र उत्पन्न विशेष परिस्थितिका कारण उक्त पार्टीले चुनावमा लज्जास्पद परिणाम भोग्न बाध्य भएको थियो।

त्यसपछिका दिनमा पार्टीभित्र नयाँ कार्यंसमिति र पुराना नेताहरुबिचको कित्ताकाटकाकारण पार्टी संगठनभित्र चरम ध्रुविकरण र गुटबन्दीको स्थिति उत्पन्न भएको थियो।

यद्दपी कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विमतिभित्र सहमति खोज्ने प्रयास भने जारी राख्ने बैठकको निष्कर्ष रहेको खड्का निवासको बैठकपछि नेता विश्वकर्माले बताए।

उनले केहि समय लिएर भएपनि सहमतिका लागि अधिकतम पहल गर्ने विषयमा बैठकमा नेताहरुबिच छलफल भएको थियो।
निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि पार्टी र पार्टी कार्यालयबाट समेत पाखा परेको जस्तो अवस्थामा पुगेको उक्त समूहले आफूहरुलाई पुनः एकताबद्ध गराउन राजधानीकै चुनदेवीमा बेग्लै सम्पर्क कार्यालय खोल्ने तयारी गरिरहेका छन्।

नेता विश्वकर्माले आगामी असार २२ गते सोमबारदेखि १५औँ महाधिवेशनको तयारी सम्बन्धी छलफल, संगठन विस्तार र सम्पर्कका कामहरु उक्त सम्पर्क कार्यालयबाटै गर्ने निर्णय भएको जानकारी दिए।

बैठकमा नेताहरुले पार्टीभित्र भावनात्मक, सांगठनिक, वैचारिक र व्यवहारिक रूपमा पूर्ण एकता आवश्यक रहेको जोड दिएको उनले बताए।

बैठकले वार्ता र संवादहीनताको अवस्थालाई चिर्दै असहमतिहरूलाई पन्छाएर अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएको नेता विश्वकर्माले बताए।

उनले देशमा विधिको शासनमाथिको चुनौती, नागरिक अधिकारको संकुचन, राष्ट्रिय स्वाधीनता र अखण्डतामा देखिएका संकट तथा सत्तारुढ दलहरूका कारण उत्पन्न राजनीतिक अस्थिरतालाई सामना गर्न कांग्रेसभित्र बलियो एकता र सक्षम नेतृत्वको खाँचो रहेको धारणा राखे।

पार्टीभित्रका आन्तरिक विवाद अन्त्य र गत निर्वाचनको पराजयको गम्भीर समीक्षा गर्नका लागि सातै प्रदेशमा भएका भेलाहरूको निष्कर्षका आधारमा छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने भन्दै उनले असार २२ गते बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना रहेको जानकारी दिए।

 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update