हिमाल दैनिक
विचाराधीन मुद्दाको टुंगो नलाग्दासम्म अधिवेशनको प्रक्रिया रोक्न देउवाले खोजे अदालतको साहारा
file photo

नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई वेवास्ता गर्दै प्रतिवादी पक्षले १५औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्दै प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न अदालतमा अर्को रिट निवेदन दर्ता भएको छ। 

चौधौं महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवालाई गत वर्षको पुस अन्तिम साता विशेष महाधिवेशनको नाममा आयोजित भेलाबाट अपदस्त गर्दै नयाँ सभापति बनेका तत्कालीन महामन्त्री गगनकुमार थापा पक्षले अधिवेशनको भदौ २४ गतेदेखि वडा तहको अधिवेशन प्रारम्भ गर्नेगरी कार्यतालिका अघि सारेपछि अपदस्त सभापति देउवाले अदालतमा पुरक निवेदनमार्फत रोक्न माग गरेका हुन्।

अपदस्त सभापति देउवाको वारेसका रुपमा कांग्रेस नेता दिपक खड्काले मंगलबार दर्ता गरेको पुरक रिट निवेदनमा यसअघि सर्वोच्च अदालतले नै कांग्रेसको आधिकारिकतामाथि परेको पुनरावलोकनको रिट निवेदनमाथिको सुनुवाई गर्दै निर्वाचन आयोगको गत माघ २ गतेको निर्णयमा त्रुटि देखिएकोले उक्त विषयमा प्रारम्भिक तहबाटै पुनः सुनुवाईको अनुमति दिएको थियो।

साउन २१ गतेको इजलासबाट पुनः सुनुवाईको अनुमति पाएको अवस्थामा थापा नेतृत्वको समूहले त्यसलाई वेवास्ता गर्दै अधिवेशनको प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रिया तत्काल रोक्न र मुद्दालाई विशेष प्राथमिकताकासाथ चाँडो टुंग्याएर संविधान, कानून, विधि, विधान बमोजिम समग्र लोकतन्त्रवादी कांग्रेसजनको अधिकार रक्षा गरिदिन रिट निवेदनमा माग गरिएको छ। 

गत वर्षको भदौ २३ गतेको नवयुवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको सुरक्षा कारबाही र त्यसपछि भड्किएको देशव्यापी हत्या, हिंसा, आगजनी, तोडफोडका क्रममा र २४ गते आफ्नै निवासमा परिवारसहित मरणासन्न हुनेगरी कुटिएर घाइते बनेका सभापति देउवालाई तत्पश्चात तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा आयोजित भेलाबाट पदच्यूत गर्दै नयाँ कार्यसमिति गठनको घोषणा गरेका थिए।

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि घोषित निर्वाचनसम्म मौन रहेको अपदस्त सभापति देउवा पक्षले निर्वाचन लगत्तै अदालतमा विचाराधीन मुद्दामा अदालतको न्यायिक निरुपणको मार्ग रोजेको थियो।

त्यहिबिचमा सभापति देउवा स्वास्थ्य उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर गएर त्यसपछि हङकङमा नियमित स्वास्थ्य उपचार गराइरहेका थिए।

करिब पाँच महिना लामो विदेश बसाई पश्चात साउन २८ गतेमात्रै देउवा स्वदेश फर्किएका थिए।

त्यसको भोलिपल्टदेखि राजधानीमा सुरु भएको कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै देउवाले आफूले संविधान, कानून, विधान र विगतको नजिरका आधारमा पार्टीको वैधानिकता पाउने दावी गर्दै पार्टी सभापतिकै हैसियतमा क्रियाशील हुने स्पष्ट सन्देश दिएका थिए।

त्यसको लगत्तै थापा पक्षले असोज १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५औं महाधिवेशन गर्ने निर्णय गर्दै वडा तहको अधिवेशन भदौ २४ गतेदेखि गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयले अदालतमा विचाराधिन मुद्दाको सुनुवाई र त्यसबाट हुनसक्ने सम्भावित फैसलालाई समेत प्रभावित पार्न सक्ने दावी गर्दै देउवाले वारेसमार्फत पुरक रिट निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले उक्त रिटमाथि भदौ ११ गतेका लागि पेशी तोकेको छ। 

 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update