वाग्मती प्रदेश सभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल शुरु भएको छ ।
छलफलमा सत्तापक्षका सदस्यले सरकारद्वारा आगामी आव ०७७÷७८ का लागि ल्याइएको बजेट अत्यन्तै सकरात्मक भए पनि मन्त्रीहरुले आफ्नो जिल्लामा प्रभाव पार्ने खालको योजनालाई विभिन्न शीर्षकमा राखिएको र सत्तापक्षकै सांसदको सुझावलाई उपेक्षा गरी योजना बाँडफाँटमा विभेद गरिएकोमा चिन्ता व्यक्त गरे।
उनिहरुले कोभिड–१९ रोग नियन्त्रणका लागि सुविधायुक्त आइसोलेसन कक्ष, क्वारेन्टाइन र भेन्टिलेटरसहितको अस्पताललाई १३ वटै जिल्लामा स्थापना गर्नेतर्फ बजेटले उच्च प्राथमिकता दिनुपर्ने बताउँदै वैदेशिक रोजगारबाट फर्किएका युवालाई प्रत्यक्ष रुपमा आत्मनिर्भर हुने योजनालाई समावेश गरिनुपर्ने, कृषि उत्पादनलाई वृद्धि गर्न आधुनिक प्रविधिका साथै बाँझो जग्गालाई सामूहिक खेती गर्नेतर्फ गुरुयोजना तर्जुमा गरी बजेट विनियोजन गर्नु पर्ने माग गरे ।
त्यस्तै सरकारले ल्याउने गरेको नीति, कार्यक्रम र बजेटलाई अब नयाँ सोच र चिन्तनबाट योजनाको प्रोफाइल तयार गर्नुपर्ने उल्लेख गर्दै उनिहरुले राष्ट्रिय गौरवको आयोजना, पर्यटन क्षेत्रको विस्तार र उच्च शिक्षाको गुणस्तरलाई अघि बढाउन वाग्मती प्रदेशमा छुट्टै नयाँ विश्व विद्यालय स्थापना गर्नेतर्फ बजेट विनियोजन गरी कार्यान्वयन गर्न आग्रह गरे ।
यसैगरी बैठकमा प्रतिपक्ष दलका सदस्यले प्रस्तुत बजेट जनमुखी, व्यावहारिक र पारदर्शी हुन नसकेको, स्थानीय निकायबाट माग भई आएको विभिन्न विकासको पूर्वाधारको योजनालाई सम्मानपूर्वक वितरण नगरी केवल मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा मात्रै एकै प्रकारको विभिन्न शीर्षकमा बजेट छुट्याइएकोमा गुनासो व्यक्त गर्दै प्रदेशको १३ वटै जिल्लामा सुविधायुक्त अस्पतालको स्थापना एवं प्रयोगशालाका साथै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउनेतर्फ बजेट मौन रहेको बताए। ।
उनिहरुले समानुपातिकतर्फका सदस्यलाई विभिन्न अवसर तथा योजना बाँडफाँटमा उपेक्षा गर्न नहुने भन्दै वैदेशिक रोजगारबाट फर्किएका युवालाई आ–आफ्नो क्षमता र सीपअनुसार रोजगारीमा संलग्न गराई उनीहरुलाई आर्थिक समृद्धितर्फ जोड्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
छलफलमा भाग लिनुहुने सदस्यमा सरेश नेपाल, हीरानाथ खतिवडा, सीता लामा, प्रदीप कटुवाल, रमेश पौडेल, शोभा शाक्य, सुरेन्द्रराज गोरसाई, सिर्जना सैजु, रस्ता गुरुङ, प्रभात तामाङ, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, पुकार महर्जन, निमा लामा, छिरिङ लामा र न्हुच्छेनारायण श्रेष्ठ छन् ।
प्रदेशसभाको अर्को बैठक असार १७ गते दिनको २ बजे बस्नेछ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय