हिमाल दैनिक
चीनसँग सीमामा कुनै विवाद छैन: परराष्ट्रमन्त्री ज्ञवाली
pradeep-gyawali
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी राष्ट्र चीनसँग सीमामा कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमानामा कुनै विवाद नरहेको प्रष्टीकरण दिएका हुन् । उनले विवाद र राष्ट्रिय सुरक्षाका विषयमा तथ्यमा आधारित भएर मात्र समाचार प्रकाशन गर्न सञ्चार माध्यमलाई आग्रह समेत गरे । उनले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्ने गरी समाचार प्रकाशन नगर्न र यस्ता समाचारबाट भ्रममा नपर्न समेत आग्रह गरे । मन्त्री ज्ञवालीले चीनसँगको सीमानामा ९८ सीमास्तम्भ रहेको तथा भौगोलिक विकटता र दुई देशबीच कुनै विवाद नरहेकाले सीमा संकेत चिह्न ३७ र ३८ खडा नगरिएको बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको उचाईबारे स्नोलाइनलाई आधार मान्ने कि रकलाईनलाई आधार मान्ने भन्ने विषयमा सहमति भइनसकेकाले छलफल भईरहेको जानकारी दिए । पश्चिमतिरको भू–भागमा त्रिदेशीय विन्दु तयार भइनसकेको पनि उनले बताए । त्यस्तै भारतसँगको सीमा विवाद सुल्झिएपछि तीन वटै देशको सहमतिमा त्रिदेशीय सीमा बिन्दु तयार गरिने पनि जानकारी दिए । उनले चीनसँग २०१२ देखि रोकिएको प्रोटोकल वार्ता छिट्टै हुने जानकारी दिए । बैठकमा उनले छिमेकी मुलुक भारतसँग सम्पर्कमै रहेको जानकारी दिँदै कूटनीतिक माध्यमैबाट नेपाल भारत सीमा समस्या समाधान हुनेमा सरकार विश्वस्त रहेको बताए । उनले एक दुई विवादले दुई देशबीचको बहुआयामिक सम्बन्ध प्रभावित हुन नहुनेमा सरकार सजग रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update