नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
यो सँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबार प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोरोना संक्रमित भेटिएका छन् भने काठमाडौं उपत्यकामा थप ६ कोरोना संक्रमण देखिएको छ ।
बिहीवार मन्त्रालयले पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन् । उनीहरू कैलालीका हुन् । तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालमा भर्ना भएका उनको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताए ।
त्यसैगरी जेठ ३१ गते टाउकोमा चोट लागी अस्पताल भर्ना भएकी ४३ वर्षीया महिलाको शल्यक्रिया गर्नुअघि असार २ गते परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो । तर उनको निधन भएपछि आएको परीक्षणमा उनमा पनि कोरोनाभाइरस देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।
मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोरोना पुगेको पुष्टि भएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय