सरकारले लडकडाउन आदेशमा खुकुलो पारेकै दिन सोमबार मात्रै देशभरीबाट ४ सय ५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार, देशका विभिन्न प्रयोगशालामा गरिएको विगत २४ घण्टामा गरिएको परिक्षणमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ३५ महिला र ४ सय १६ पुरुष गरेर ४५१ जना नयाँ संक्रमित थपिएका हुन्।
उनले हालसम्म नेपालमा १ लाख ३८ हजार ६ सय ८३ पीसीआर परीक्षण भएको बताए। त्यस्तै २ लाख १९ हजार ३३६ आरडीटी किट विधिबाट परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६ पीसीआर र ८ हजार ६ सय १५ आरडीटी विधिबाट नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म एक हजार ४१ जना डिस्चार्ज भएको प्रवक्त गौतमले जानकारी दिए।
देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेकाछन् भने आइसोलेसनमा ५ हजार १ सय ५१ जना रहेका छन्।
नेपालमा कोरोनाबाट अहिलेसम्म १९ जनाको ज्यान गइसकेको छ।
सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन ६ पटकसम्म लम्ब्याएर जेठ ३२ गतेसम्म जारी राखेकोमा त्यसपछि केही खुकुलो पारेपनि लकडाउन आदेश समाप्त पारेको छैन। यसरी लकडाउन आदेश जारी गरेपनि सरकारले चाल्नु पर्ने पहिचान, परिक्षण र रोकथामसँगै संक्रमणको आशंका लागेका व्यक्तिहरुको व्यवस्थापनमा कमजोरी भएपछि सरकारको चौतर्फी आलोचना हुँदै आएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय