हिमाल दैनिक
बूढानीलकण्ठमा व्यापार तथा ओसारपसार सहज
budhanilkantha
बूढानीलकण्ठ नगरपालिकाले अत्यावश्यक वस्तुको व्यापार तथा व्यवसायलाई सहज बनाउने भएको छ । नगरपालिका, कोभिड–१९ महामारी रोकथाम लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकले मानिसको दैनिक जीवनयापन सहज बनाउन अत्यावश्यक वस्तुको व्यापार र ओसारपसार सहज बनाउने निर्णय गरेको हो । बैठकले विकासनिर्माणका सामग्रीको खरीदबिक्री सामाजिक दूरी कायम गरी खुला गर्ने निर्णय गरेको छ । अत्यावश्यकबाहेकका फेन्सी, कपडा, स्टेशनरी र विद्युतीय सामग्रीको खरीदबिक्री बिहान १० बजेसम्म खोल्ने बताइएको छ । त्यस्तै नगरभित्र काम गर्ने कामदार, मर्मतसम्भार कार्यकर्ता र मिस्त्रीलाई साइकल र मोटरसाइकलमा हिँड्न दिने व्यवस्था गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । उनका अनुसार हरेक पसलमा हात धुने व्यवस्था, स्यानिटाइजर, सामाजिक दूरी रेखासहित घेरा बनाई अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्दिर, चर्च, मस्जिद, मेला, भोज, पार्टी, जात्रालगायत कार्य भने पूर्ण बन्द गरेको सो बैठकले नगरपालिकामा सञ्चालित ब्युटीपार्लर, सैलुन, होटल, रेष्टुँरा, जिमखाना र क्लब खोल्न नपाइने निर्णय गरेको छ । सामूहिक हाट र सडक व्यापार जस्ता भीड हुने स्थल बन्द गर्ने नगरपालिकाले जनाएको छ । बैठकले नगरमा स्थायी वा अस्थायी बसोबास गर्ने र विदेशमा अध्ययन, रोजगार तथा अन्य कामले रहेका व्यक्तिबारे सही विवरण बुझाउन र नगरपालिकाले तयार गरेको डिजिटल फाराम भर्न सम्बन्धित परिवारमा आग्रह गरेको छ । प्रत्येक वडामा क्वारेन्टाइन नगरपलिकाले प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । कोभिड–१९ को जोखिम बढ्दै गएकाले संङ्क्रमण रोकथामका लागि प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्न थालिएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए । नगरपालिकाका वडा नं १, २, ८, १०, ११ १३ र १२ मा क्वारेन्टाइन निर्माण गरिसकिएको बताइएको छ । “निर्माण गरिएको क्वारेन्टाइनमा १५ देखि ३० बेडसम्म रहेको छ”, प्रमुख खरेलले भने । अन्य वडामा पनि निर्माण भइरहेको जानकारी उनले दिए । हालसम्म नगरपालिकामा दुई सय शय्याको क्वारेन्टाइन निर्माण भएको छ । राहतका लागि रोजगार नगरपालिकाले विपन्नलाई राहतको सट्टा रोजगारी दिने भएको छ । नगरमा बसी ज्याला मजदूरी गर्ने बेरोजगारलाई काम र खानाको समस्या परी राहतको जरुरी भए आफूले गर्न सक्ने काम रोजगारीका लागि वडा कार्यालयमा दर्ता गर्न सूचना गरिएको छ । लकडाउनदेखि नै नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको थियो । खाना कार्यक्रमका अतिरिक्त चार हजार ७२५ मजदूर तथा विपन्न परिवारलाई राहत बाँडिएको नगरापालिकाले जनाएको छ । दुई कोरोनामुक्त नगरपालिकामा दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीलाई जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएकामा तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ देखिएपछि घर फर्काइएको हुन् । यस्तै बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा जेठ १२ गते कोरोना भाइरस पुष्टि भएपछि शुक्रराज अस्पतालको आइसोलेशनमा राखी उपचार गरिएको थियो । तीन पटकसम्मको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि पाँच दिनमा घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update