हिमाल दैनिक
सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या
Covid-19
लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ । शनिबार बिहानदेखिको वर्षाले पानीमा भिज्दै ससाना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा तथा युवायुवती भारतको सुरत, मुम्बई, गुजरात, हरियाणालगायतका शहरबाट पलिया गौरीफन्टा हुँदै नाकामा पुगेका हुन् । भारतको मुम्बईबाट पानीमा भिज्दै परिवार बालबच्चासहित नाकामा पुगेका डोटीको बाहुनकाँडाका भोजराज ओझाले भोक, कष्ट, थकानसहित तीन दिनदेखिको लामो दूरीको यात्राबाट बल्ल नेपाल प्रवेश गरेको बताए । उनले भने, “नाका प्रवेश गर्ने क्रममा यहाँ परेकोे पानीले भिजाएर झनै बिजोग बनाएको छ, अझै आफ्नो जन्मथलो पुग्न त कति समय लाग्ने हो कुनै निश्चित छैन ।” रोजगारीका लागि विद्यालयको पढाइ छाडी सानै उमेरमा भारत पसेका ओझाले वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहँुदा थप समस्या भएको दुःखेसो गरे । भारतका विभिन्न स्थानबाट आएका नेपालीलाई पानीले भिजाउनुका साथै त्यहाँ पानी जमेर हिलोसमेत भएर झन् अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । वर्षाकै बीचमा पनि भारतबाट नेपाल प्रवेश गरेकालाई खानपान व्यवस्थापनको काम भने भइरहेको खानपान अभियानमा सक्रिय कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले भने, “पानी पर्दापर्दै भिज्दै हजारौँ नेपाली नाकामा प्रवेश गरेका छन्, उनीहरुको खानपानको व्यवस्थापन गर्न साह्रै गाह्रो भयो ।” यही जेठ २ गतेदेखि भारतका विभिन्न शहरबाट आएका नेपालीहरुको उद्धारमा यहाँका विभिन्न सङ्घसंस्था, प्रदेश सरकार, सेवा समितिलगायत जुटेका छन् । कसैले व्यक्तिगतरूपमा पनि सहयोग गरिरहेको पाइएको छ । हालसम्म भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार नाका हुँदै झण्डै ३० हजार नेपाली नेपाल भित्रिसकेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update