ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा बुधबार मृत्यु भएका ५७ वर्षीय कोरोना सङ्क्रमित पुरुषको अन्त्येष्टि भएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शुक्रबार उनको अन्त्येष्टि गरिएको हो । ती सङ्क्रमितको अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनाले लिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
शव व्यवस्थापनका लागि आज अपराह्न ललितपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालयका प्रमुख, महानगरपालिकाका प्रतिनिधि, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) का निर्देशकलगायत केही सुरक्षाकर्मीको बैठक बसी विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्ने निर्णय भएको थियो ।
यही जेठ ११ गते किष्ट अस्पतालमा कलेजोको समस्या (क्रोनिक लिभर डिजिज) उपाचार गराउन ती व्यक्ति भर्ना भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । सो व्यक्तिलाई गाह्रोे भएपछि अस्पतालको आइसियूमा राखियो । आइसियूमा राख्दा पनि गाह्रो भएपछि एमआइसियूमा राखियो ।
जेठ १२ गते उनको पिसिआर विधिद्वारा थ्रोट स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । बुधबार अपराह्न ४ बजेर ५ मिनेटमा सो व्यक्तिको मृत्यु भएको थियो । मृतकको स्वाबको नतिजा बुधबार नै साँझ ७ बजे आएपछि मात्र कोरोना सङ्क्रमण पुष्टि भएको बज्राचार्यले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय