हिमाल दैनिक
कास्कीमा २१ हजार परिवारलाई राहत वितरण
pokhara-rahat-samagri
कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित जिल्लाका २० हजार ८९७ परिवारलाई राहत विरतण गरिएको छ । जिल्लाका चार स्थानीय तहले वडा कार्यालयमार्फत लकडाउनबाट प्रभावित साँझ बिहान चुलो बाल्न असमर्थ दैनिक ज्यालादारी मजदुर, श्रमिक तथा असाहाय परिवारलाई राहत वितरण गरेका हुन् । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले ३३ वटै वडामार्फत १९ हजार २२० परिवारलाई राहत प्रदान गरिएको जनाएको छ । लकडाउनपछि अतिविपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेको चुलो निभ्न नदिन लाभग्राही छनोट गरी राहत वितरण गरिएको बताइन्छ । महानगरले चार वा सोभन्दा बढी सङ्ख्या भएको परिवारलाई फूल प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ । त्यसैगरी लकडाउनको समयमा खाद्यान्नको अभावमा महानगरपालिकाभित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले ‘क्विक रेस्पोन्स’ टोली बनाएर राहत वितरणसमेत शुरु गरेको छ । राहत दिन महानगरले रु दुई करोड जम्मा गरेर कोष स्थापना गरेको छ भने प्रदेश सरकारले रु एक करोड उपलव्ध गराएको छ । महानगरको कोषमा निजी क्षेत्रबाट समेत अहिले रु ३० लाख जम्मा भइसकेको छ । जिल्लाको मादी गाउँपालिकाले पहिलो चरणमा ६५२ परिवारलाई राहत वितरण गरेको छ । राहतमा प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले रु दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । गाउँपालिकाले चुलो बाल्न असमर्थ परिवारलाई राहत दिन रोकथामका लागि रु १० लाख बजेट विनियोजन गरेर प्रकोप व्यवस्थापन कोष खडा गरेको थियो । मादीमा राहतका लागि सुपर मादी हाइड्रोले रु १२ लाख ७६ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो । माछापुछ्रे गाउँपालिकाले ६२५ विपन्न परिवारलाई राहत वितरण गरेको छ । विपन्न र ज्यालादारी मजदूरका परिवारलाई राहत वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिए । पाँच जना सदस्य रहेको परिवारलाई ३० केजीको एक बोरा चामल, दुई केजी दाल, एक लिटर टेल, एक पोका नून, एक पोका बेसार तथा साबुनको ‘फुल प्याकेज’ विरतण गरिएको बताइन्छ । त्यसैगरी दुई सदस्य रहेको परिवारलाई १५ केजी चामल, एक केजी, दाल, तेल, नून र बेसारको ‘हाफ प्याकेज’ उपलव्ध गरिएको बताइन्छ । पाँच जना भन्दा बढी भएको परिवारलाई ‘डेढ प्याकेज’ प्रदान गरिएको छ । राहतका लागि प्रदेश सरकारले उपलव्ध गराएको रु पाँच लाख तथा गाउँपालिकाले स्थापना गरेको रु २५ लाख बजेटको विपद् व्यवस्थापन कोषबाट राहत वितरण भइरहेको बताइन्छ । गाउँपालिकाले स्थापना गरेको कोषमा हाल विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जम्मा भइरहेको छ । त्यसैगरि रुपा गाउँपालिकाले ४०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए । उनीहरुलाई रु दुई हजार बराबर एक बोरा चामल, दुई केजी दाल तथा एक पोका तेल वितरण गरिएको थियो । पाँच स्थानीय तह रहेको जिल्लामा अन्नपूर्ण गाउँपालिकाले भने हालसम्म राहत वितरण गरेको छैन । भविष्यमा अहिलेभन्दा ठूलो सङ्कट आउन सक्ने भन्दै अन्नपूर्णले अहिले राहत नदिएको गाउँपालिका अध्यक्ष युवराज कुँबरले बताए । आगामी दिनमा राहत आवश्यक परिवारलाई वितरणका लागि अहिले गाउँपालिकाले ७०० मूरी कोदो खरीद गरेको र राहत स्वरुप कोदो विरतण गरिने उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update