नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन आगामी पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव अघि सारेका छन्।
विगत केही दिनदेखि पार्टीभित्र महाधिवेशनको तिथि, मिति र समयबारे चलेको बहसमा पार्टीभित्र सहमतिको वातावरण बन्न नसकेपछि अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ र समर्थनमा मंगलबारको बैठकमा महामन्त्री थापाले पार्टीको नियमित महाधिवेशनको मिति अघि सारेका हुन्।
विगतमा पार्टी सभापति शेरबहादुर देउवाको चाहना र योजना अनुसार पार्टी महाधिवेशन ०८३ सालको मंसिरभित्र गरिसक्ने सार्वजनिक अभिव्यक्ति दिँदैआएका महामन्त्री थापाले पछिल्लो समय नवयुवा (जेन–जी) आन्दोलन र त्यसपछि भएको हिंसात्मक विद्रोहबाट भएको सत्ता पलटको राप र तापबिच पार्टीको १५औं महाधिवेशन प्रतिनिधि सभा सदस्यको निर्वाचन अगावै गर्न मिति प्रस्ताव गरेका हुन्।
उनको प्रस्तावको विपक्षमा रहेको सभापति देउवा पक्षका कतिपय पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको साथ र समर्थनमा थापाले प्रस्तावको प्रतिवाद गर्दै सहमहामन्त्री महेन्द्र यादवले फागुन २१ गतेको आम निर्वाचन अगाडि पार्टी अधिवेशन सम्भव नभएकोे भन्दै बेग्लै प्रस्ताव अघि सारेका छन्।
उनले निर्वाचन अगाडि गरिने महाधिवेशनले चुनावमा असर पार्ने र अधिवेशनको तयारीका लागि समय पनि नपुग्नै दाबी गर्दै आफ्नो समूहको तर्फबाट आगामी वैशाख २५ देखि २९ गतेसम्म गर्न उपयुक्त हुने प्रस्ताव अघि सारेका छन्।
उता, महामन्त्रीद्वय थापा र शर्माले आफूहरुले अघि सारेको मितिमा नियमित महाधिवेशन नभए देशभरबाट संकलित महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरका भरमा चुनाव अगाडि नै विशेष महाधिवेशन गर्ने धम्कीपूर्ण तयारी गरिरहेका छन्।
यसैबिच महामन्त्री थापाले अघिसारेको महाधिवेशनको तिथि र मितिले यसअघि सरकारले तय गरेको आम निर्वाचन र त्यसका लागि निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिकामाथि नै आशंका जन्माइदिएको छ।
जेन–जी विद्रोह पश्चात राष्ट्रपति रामचन्द्र पौडेलले एकल कार्यभार तोक्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रतिनिधि सभाको निर्वाचन गराउन दिएको निर्देशन बमोजिम कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गतेका लागि तय गरेको थियो।
सोही अनुसार, निर्वाचन आयोगले प्रतिनिधि सभाका ११० जना समानुपातिक सदस्यको निर्वाचनका लागि आगामी पुस १८ र १९ गते निर्वाचनमा भाग लिने राजनीतिक दललाई आफ्नो दलको तर्फबाट समानुपातिक सूचिमा रहने सदस्यहरुको नामावली बुझाउन भनिसकेको छ।
निर्वाचन आयोगले दिएकै तिथि र मितिलाई बिचमा पारेर महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका अघिसारेपछि कांग्रेसले निर्वाचन आयोगमा सूचि बुझाउने प्रक्रिया र सम्भावना के कति रहन्छ होला भन्ने अनुमान सहजै गर्न सकिन्छ।



