फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न निर्वाचनको समानुपातिक तर्फको पछिल्लो मतगणना परिणाम अनुसार आगामी संसदमा ६ वटा दलले मात्रै आफ्नो स्थान सुरक्षित गर्ने भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतगणना परिणाम अनुसार, हालसम्म गणना भएको कुल १ करोड ७ लाख ८१ हजार ७ सय १४ मतमा निर्वाचन ऐनको प्रावधान अनुसार, कम्तिमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलका रुपमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ।
प्रत्यक्ष तर्फको १६५ सिटका लागि सम्पन्न निर्वाचनमा १२५ स्थानमा जितको बाढी नै ल्याएर सबैलाई आश्चर्य चकित बनाएको रास्वपाले समानुपातिक तर्फ गणना भएको कुल मतमा पनि ५१ लाख ५४ हजार ९ सय ४८ अर्थात ४७.८१ प्रतिशत मतकासाथ ५७ सिटमा आफ्नो पकड जमाएको हो।
समानुपातिक तर्फको कुल ११० सिटमध्ये दोस्रो स्थानमा नेपाली कांग्रेसले १७ लाख ५५ हजार ४ सय ७९ मत अर्थात कुल मतको १६.२८ प्रतिशत प्राप्त गर्दै २० स्थान सुरक्षित गर्न सफल भएको छ।
आयोगको मतगणना परिणाम अनुसार, मोडिफाइड सेन्ट लग म्याथोडका आधारमा विजोर अंकले भाग गरी सिट बाँडफाँट गर्दा मंगलबार साँझसम्म अन्तिम ११०औं नम्बरको स्थानमा आफ्नो स्थान सुरक्षित गर्दै आएको रास्वपा बुधबार बिहानदेखि झिनो मतअन्तरका कारण एक स्थान गुमाउन बाध्य हुने भएको छ।
अन्तिम स्थानका लागि गरिने भागका आधारमा ५८औं स्थानमा रास्वपाको लागि ११५ अंकले भाग गर्दा ४४८२५ भागफल आएको छ भने कांग्रेसका लागि ३९औं अंकले भाग गर्दा उसको भागमा ४५०१२ भागफल अर्थात रास्वपाको भन्दा १८७ अंक बढी भएर समानुपातिक तर्फको अन्तिम ११०औं स्थानमा कांग्रेसले स्थान सुरक्षित गर्न सफल भएको छ।
यसैगरी नेकपा एमालेले १४ लाख ५२ हजार ६ सय ३७ मत अर्थात १३.४७ प्रतिशत प्राप्त गर्दै १६ स्थानमा चित्त बुझाएको छ भने पूर्व माओवादी र नेकपा एस लगायतका दल मिलेर बनेको पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख ९ हजार ५ सय ३० मत अर्थात ७.५ प्रतिशत प्राप्त गर्दै ९ स्थानमा खुम्चिएको छ।
पूर्वपञ्च तथा राजावादीहरुको पृष्ठभूमि भएका नेताहरुले बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने बडो मुस्किलले तीन प्रतिशत थ्रेसहोल्ड कटाउँदै समानुपातिक तर्फ ४ स्थान सुरक्षित गर्न सफल बनेको छ।
राप्रपाले ३ लाख ३० हजार २२७ मत अर्थात टुप्लुक्क ३ प्रतिशत मत कटाएर छैटौं स्थानमा पुगेको छ भने धरानका पूर्व मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले राप्रपा भन्दा केही मत ज्यादा अर्थात ३ लाख ८५ हजार ७ सय ८ अर्थात ३.५७ प्रतिशत प्राप्त गर्दै पाँचौँ स्थानमा ४ सिटमै चित्त बुझाउनु परेको छ।
यसरी प्रत्यक्ष र समानुपातिक तर्फ अत्याधिक १२५ प्रत्यक्ष र ५७ समानुपातिक तर्फ गर्दै करिब दुई तिहाई नजिकको संख्यामा रास्वपा पुगेको छ भने कांग्रेसले प्रत्यक्ष तर्फको १८ स्थानसहित आगामी प्रतिशिति सभामा ३८ सदस्य लिएर दोस्रो दलको रुपमा उपस्थित हुँदैछ।
उता यसअघिका निर्वाचनमा एक पटक बाहेक सधैँ दोस्रो र कहिले काही पहिलो बन्दै आएको एमाले यसपटक प्रत्यक्ष तर्फ ९ स्थानमा खुम्चिएर समानुपातिकसहित २५ सदस्य तथा नेकपाले ८ प्रत्यक्ष र ९ समानुपातिकसहित १७ सदस्य लिएर चौथो दलका रुपमा रहने छ।
साम्पाङको श्रम संस्कृति पाटीले तीन प्रत्यक्ष र ४ समानुपातिकसहित ७ सदस्य लिएर पाँचौ दलका रुपमा आफ्नो भूमिका निर्वाह गर्न पाउने छ भने राप्रपा प्रत्यक्ष तर्फबाट ज्ञानबहादुर शाहीसहित समानुपातिक तर्फका ४ सदस्यगरी ५ जनाको कान्छो दलका रुपमा उपस्थित हुने छन्।
यसबाहेक पूर्वमन्त्री महाविर पुन पनि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर सांसदको रुपमा आगामी संसदमा उपस्थित हुने छन्।
निर्वाचन आयोगले समानुपातिक तर्फको सम्पूर्ण मतगणना सम्पन्न गरेलगत्तै सम्बन्धीत दलले प्राप्त गरेको मतभारका आधारमा निर्धारित सिटमा निर्वाचित हने समानुपातिक तर्फ यसअघि नै बुझाइएको बन्दसूचिबाट निर्वाचित सदस्यको नाम सिफारिस गर्न प्रक्रिया अघि बढाउँदैछ।

