हिमाल दैनिक
प्रतिनिधि सभा सदस्य निर्वाचनः समानुपातिकतर्फ ५० लाख मत कटाएको रास्वपाले ५८ सिटमा पकड जमाउँदै

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ अत्याधिक क्षेत्रमा विजयी हुन सफल रवि लामिछाने र बालेन साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फको मतगणनामा पनि मतको बाढी नै ल्याएको छ। 

मंगलबार अपरान्ह १ बजेसम्म निर्वाचन आयोगले गरेको गणनाको पछिल्लो विवरण अनुसार, हालसम्म गणना भएको एक करोड ४ लाख ७७ हजार ९४३ मतमध्ये रास्वपाको खातामा ५० लाख २९ हजार ८७४ मत खसेको छ। जुन कुल मतको ४८ प्रतिशत हुन आउँछ। 

विगत ३५ वर्षदेखि राष्ट्रिय राजनीतिमा झिनो मत अन्तरले कहिले पहिलो त कहिले दोस्रो हुँदैआएका पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रत्यक्ष तर्फ जस्तै समानुपातिक तर्फ पनि पहिलो दल रास्वपाको तलुनामा तीन गुणा मत कम लिएर चित्त बुझाउनु परेको छ। 

हालसम्मको स्थितिमा कांग्रेसले १७ लाख २ हजार २१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहन पुगेको छ भने एमालेले १४ लाख १७ हजार ६ सय ६ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ। जुन उक्त मतको आधारमा कांग्रेसले १६.२४ प्रतिशत हो भने एमालेको १३.५२ प्रतिशत तथा नेकपाको ७.३७ प्रतिशत हो।

यसका अतिरिक्त धरानका पूर्व मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँगै पूर्व राजावादी र पूर्वपञ्चहरुको दलका रुपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी दुबैले निर्वाचन ऐनको तीन प्रतिशत थ्रेसहोल्ड कटाएर समानुपातिक तर्फ समान हैसियतको सिट सुरक्षित गर्ने भएका हुन्। 

यसरी उक्त दलहरुले प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले समानुपातिक तर्फका ११० सिटको बाँडफाँट गर्दा रास्वपाको पक्षमा ५८ सिट छुट्याउनु पर्नेछ भने कांग्रेसका लागि १९ तथा एमालेका लागि १६ स्थान दिए पुग्ने छ। 
पूर्व माओवादी पार्टीका नेता पुष्पकमल दाहाल नेतृत्वको नेकपाका लागि ९ स्थान तथा श्रम संस्कृति र राप्रपाका लागि क्रमशः ४/४ सिट दिए पुग्ने छ। 

यसअघि प्रत्यक्ष तर्फका १६५ स्थानका लागि सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार, रास्वपाले १२५ स्थानमा अभूतपूर्व जित निकाल्दै दुई तिहाईको नतिजा नजिक पुगेको छ भने कांग्रेस र एमालेले क्रमशः १८ स्थान र ९ स्थानमा चित्त बुझाउनु परेको छ। उता नेकपाको भागमा सात सिट तथा श्रम संस्कृतिका तीन जना सदस्यले जित निकाल्दै गर्दा राप्रपाका महामन्त्री ज्ञानबहादुर शाही एक्लै विजयी भएका छन्। 

यसका अतिरिक्त पूर्वमन्त्री महाविर पुनले पनि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन्। 
 

 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update