
सुर्खेत – खाना, नाना र छानाको अभावमा सडक, मन्दिर र सार्वजनिक स्थलमा माग्न बस्ने र त्यहीं नै रात बिताउने एक सय ५० जनाको उद्धार गरेसँगै प्रदेश सरकारले कर्णालीलाई सडक मानवमुक्त घोषणाको तयारी थालेको छ। प्रदेशका सबै स्थानीय तह, सरोकारवाला र मानव सेवा आश्रमसँगको सहकार्यमा शनिबार कर्णालीलाई सडक मानवमुक्त घोषणा गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सडक मानवरहित घोषणा हुने कर्णाली नेपालकै पहिलो प्रदेश हुनेछ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
‘कर्णालीमा हालसम्म सडक, मन्दिर र सार्वजनिक स्थलमा मागेर खाने तथा सडकमै रात बिताउनेको उद्धार गरेका छौं। कर्णाली सडक मानवमुक्त भइसकेको छ,’ मन्त्रालयका सचिव डा. मानबहादुर विकेले भने, ‘यसको औपचारिक घोषणा गर्नमात्रै बाँकी छ।’ कर्णालीका १० जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतमा सडक मानवको संख्या धेरै पाइएको उनले जानकारी दिए।