बजेट खर्च झन् कमजोर, १ खर्ब ७४ अर्ब खातामै

काठमाडौँ — प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षभन्दा कमजोर देखिएको छ । चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा खर्च विगतमा भन्दा झन् कम भएर १ खर्ब ७४ अर्ब रुपैयाँ सरकारी खातामै थन्किएको छ । यो खबर आजको कान्तिपुरमा कृष्ण आचार्यले लेखेका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार पुस २५ गतेसम्ममा कुल बजेट खर्च २६ प्रतिशत र विकास बजेट खर्च १४ प्रतिशत मात्रै छ । राजस्व, वैदेशिक अनुदान तथा ऋणलगायत शीर्षकमा सरकारले प्राप्त गरेको बजेटमध्ये १ खर्ब ७४ अर्ब खातामा मौज्दात छ । कात्तिकसम्म मौज्दात रकम १ खर्ब ५० अर्ब रुपैयाँ मात्रै थियो । ‘यो खातामा केही ठेक्कापट्टा र अन्य क्षेत्रको धरौटी तथा राजस्व फिर्ताअन्तर्गतको रकम पनि हुन्छ, जुन न्यून छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘अधिकांश रकम सरकारले खर्च गर्न नसकेरै थुप्रिएको हो ।’ उनका अनुसार मौज्दातमध्ये ५८ अर्ब रुपैयाँ स्थानीय तहले खर्च गर्न नसकेको रकम हो । यस आधारमा केन्द्र र प्रदेश सरकारलाई गएको अनुदानमध्ये १ खर्ब १६ अर्ब रुपैयाँ थन्किएको छ । प्रदेश र स्थानीय तहले केन्द्रीय अनुदानबाहेक के कति खर्च गरे भन्ने विवरण भने यसमा समावेश छैन । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले समेत बजेट पर्याप्त खर्च हुन नसकेको स्पष्ट पार्छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय