चैतबाट मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्र

नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो । यो खबर आजको राजधानी राष्ट्रिय दैनिकमा छापिएको छ।
अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ । अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्देशिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ ।
अन्तरआबद्धता शुल्क भनेको एक सेवा प्रदायकको नेटवर्कबाट अर्कोमा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने शुल्क हो । प्राधिकरणले निर्देशिकामार्फत प्रतिमिनेट १० पैसा शुल्क तोके पनि सेवा प्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्न सक्ने प्रावधान छ ।
अहिले एनसेलका ग्राहकले एनसेलमा र नेपाल टेलिकममा कल गर्दा खासै फरक पर्दैन । तर, नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्छ । नयाँ निर्देशिका लागू भएपछि सिधै असर एनसेललाई नपर्ने र टेलिकमलाई पर्नेछ । टेलिकमबाट एनसेलमा कल गर्दा अब कम्तीमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय