कांग्रेसमा ओलीको छायाँः अरिंगाल र साइवर सेनाले जस्तै विरोधीको ठेगान ‘वार रुम’बाटै लगाइने!

आजभन्दा करिब साढे तीन वर्षअघिको आम निर्वाचन लगत्तै सत्तामा पुगेका तत्कालिन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको विभिन्न माध्यमबाट आलोचना हुन थालेपछि ओलीले आफूनिकट पत्रकार र बुद्धिजिवीलाई बालुवाटारमा बोलाएर ‘अरिंगाल’को शैलीमा प्रतिवादमा उत्रन निर्देशन दिए।
त्यसपछिका दिनमा पनि उनी र उनको नेतृत्वमा रहेको सरकारको विषयमा आलोचना हुन नछाडेपछि ओली र उनका अनुयायीहरुले विरोधीमाथि संगठित प्रतिकार गर्न ‘साइवार सेना’ गठन गर्दै बचाउको असफल प्रयास गरे। तर, ओलीका अरिंगाल र साइवर सेनाले विरोधीहरुको प्रतिकार त परको कुरा आफ्नै दलभित्रका असन्तुष्ट नेता, कार्यकर्ताको समेत प्रतिकार गर्न सकेनन् र समाजमा कटु आलोचना खेप्नु परेको छ।
तथापि सत्ता बाहिर बस्न बाध्य भएका ओलीका अरिंगाल र साइवर सेनाले संगठित रुपमा आफ्ना आलोचक र विरोधी भनेर चिनिएका व्यक्ति वा संघ संस्थाविरुद्ध सामाजिक सञ्जालमार्फत नियोजित आक्रमण भने अझै पनि जारी नै राखिरहेका छन्।
सत्ताबाहिर रहँदा उनै ओलीका अरिंगाल र साइवर सेनाको विषयमा आलोचना र असन्तुष्टि पोख्दै आएको नेपाली कांग्रेस भने अहिले सत्ताको नेतृत्व गर्न पुगेलगत्तै तिनै अरिंगालको ‘रानो’ भनौँ अथवा साइवार सेनाका ‘परमाधिपति’ एमाले अध्यक्ष ओलीको छायाँछवि बन्न कम्मर कस्दैछ।
यसको उदाहरण हो, १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले विरोधीहरुको प्रतिकार गर्ने नाउँमा हालै गठन गरेको एनसी वीन अन्तर्गत ‘वार रुम’को अवधारण।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको भदौ २१ गते भर्चुअल माध्यमबाट सम्पन्न विभागको चौथो पूर्ण बैठकले सार्वजनिक गरेको ९ बुँदे निर्णय अनुसार, कांग्रेसले ‘प्रविधि मैत्री कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस वाइड्ली इन्फर्मेशन नेटवर्क (एनसी वीन) गठन गरेको छ।
पार्टीले जारी गरेको विज्ञप्तिको चौथो नम्बर बुँदामा उल्लेखित जानकारी अनुसार, विभागले गठन गरेको एनसी वीनले पार्टीको प्रविधि सम्बन्धि र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा तत्कालीन कार्यको रुपमा पार्टी महाधिवेशनको प्रचार गर्ने रहेको छ।
एनसी वीनको अल्पकालीन कामका रुपमा स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’को संगठित अवधारणा बमोजिम)को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने दायित्व दिइएको छ।
यसरी पार्टीले वार रुम नै बनाएर विपक्षीको प्रतिकार गर्ने सार्वजनिक निर्णयप्रति कतिपय पार्टी नेता तथा कार्यकर्ताले नै असन्तुष्टि जनाएका छन्।


प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय