हिमाल दैनिक
अब २५ जना भन्दा बढी भेला हुन नपाउने
cdo-kathmandu
काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मेला, महोत्सव र राजनीतिक कार्यक्रम नगर्न अनुरोध गरेको जानकारी दिए । त्यस्तै अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी, गराई गर्ने व्यवस्था मिलाउने उनले बताए । यही माघ ७ गते देखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटोभएपनि हुने) अनिवार्य गर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । प्रशासन कार्यालयले सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा भिडभाड नहुने उपयुक्त तरिका सम्बन्धित कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्यमापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रवन्ध मिलाउन भनेको छ । जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा संचालन गरेका कोभिड–१९ उपचारकेन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी संचालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने प्रशासन कार्यालयले जनाएको छ , कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने र अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन, २०२० अनुसार कारवाही हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update