हिमाल दैनिक
यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ । यसैगरी उज्यालो वैकल्पिक विद्यालयबाट पाँच आमासमेतले परीक्षामा सहभागीता जनाउने छन् । परीक्षामा जिल्लाका विभिन्न पाँच प्राविधिक धारतर्फका १३१ विद्यार्थीले सहभागी जनाउने छन् । जिल्लामा कुल दुई हजार २४५ परीक्षार्थीमध्ये छात्र एक हजार ९५ र छात्रा एक हजार १५० छन् । परीक्षामा एक खुला विद्यालयसहित ७४ विद्यालयका विद्यार्थीले सहभागीता जनाउने कार्यालयले जनाएकोछ । परीक्षामा ग्रेड वृद्धिका लागि आठ जनाले सहभागी हुन लागेका छन् । जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि नौ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष नियुक्त गरी उनीहरुलाई अभिमूखिकरणसमेत गरी सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइएको छ । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा सञ्चालनका लागि बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिङ्गा, मंगला मावि बावियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई परीक्षा केन्द्र तोकिएको छ । सदरमुकाम बाहिर रहेका परीक्षा केन्द्र नजिक रहेका प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तीका पठाउन सुरु गरिएको छ । परीक्षालाई मर्यादित र शान्त बनाउनका लागि जिल्ला परीक्षा समितिसँगै स्थानीय तहसमेतलाई सम्बन्धीत पालिकामा रहेका परीक्षा केन्द्रको अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update