संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन शेखर कोइरालाको माग

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने माग गरेका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकका लागि सोमबार केन्द्रीय कार्यालय सानेपा पुगेका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्नेमा जोड दिए।
उनले यस्तै प्रावधानसहितको अध्यादेश तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर बिरोध गरेको भन्दै सो विधेयक सदनमा छलफलको प्रक्रियामा लैजानै नहुने बताए।
‘नेपाली काँग्रेसले धेरै पहिले मलाई सम्झना छ, २०७८ सालमै ओलीजीको पालामा नै यो गलत प्रक्रिया हो। यसरी गर्नु हुँदैन भनेर भनेको। त्यो विधेयक लग्नै हुँदैन। त्यो त त्यसै फिर्ता गर्नुप¥यो,’ उनले भने।
विगत एक वर्षदेखि मूल ऐनका केही दफाहरु अध्यादेशले मारेपछि अपूर्ण अवस्थामा रहेको संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐनमा हालै सरकारले ओलीले जस्तै विपक्षी दलको नेताको भूमिका निस्तेज पार्ने प्रावधानसहितको विधेयक दर्ता गरेको छ।
त्यसैगरी कोइरालाले नागरिकता सम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने सुझाव दिए।
उनले भने, ‘नागरिकता सम्बधी विधेयकमा हामीले राजनीति गर्नु हुँदैन। यसमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ। नागरिकतामा पनि हामी राजनीति गर्छौं। आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन्। तर उनका छोराछोरी नहुनु भएको यो त एकदम दुर्भाग्य हो। यसलाई छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी छ।’
त्यसलगत्तै बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता कोइरालाले बोल्दै गत आम निर्वाचनको समिक्षादेखि आगामी निर्वाचनमा पार्टीले अपनाउनु पर्ने रणनीति सम्बन्धी बुँदागत धारणा राखेका थिए।


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय