हिमाल दैनिक
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा ७ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ। मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धीहरुको सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन्। उनले मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ संकलन भएको बताए। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको उनले बताए। मन्त्री कार्कीले आ.व. २०७८/०७९ मा कुल बजेटको ८०.६१ प्रतिशत खर्च भएको पनि जानकारी दिँदै भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्वद्ध निकायहरुको आर्थिक वर्ष २०७८/०७९ मा कुल विनियोजित बजेट ७ अर्ब ५६ करोड ३७ लाख रुपैयाँमध्ये चालु तर्फ ५ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ विनियोजन भएकोमा ८५.३ प्रतिशत खर्च भएको छ भने पुजिँगततर्फ १ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ विनियोजन भएकोमा ६७. २५ प्रतिशत खर्चगरी जम्मा ८०.६१ प्रतिशत खर्च भएको छ।’ मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार संकलन भएको बताउँदै उनले भने, ‘यसै मन्त्रालय समेतको सहजीकरणका कारण नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ प्रारम्भिक तथ्यांक रहेको छ। उक्त नाफा अघिल्लो वर्षको तुलनामा १ अर्ब २६ करोड बढी हो।’ मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्ण रुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताए। नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आवद्ध गरिएको छ। चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाई छ। त्यस्तै, वरिष्ठ चलचित्र कलाकारहरुको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बीमा कार्यक्रम शुरु गरिएको जानकारी दिँदै उनले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुने बताए। मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताए। उनले कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको दाबी गरे।  
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update