उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील मुलुकका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक रहेको बताए।
उनले यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा आएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा तथा वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी र प्राविधिक सीप प्रदान गरिरहेको बताए।
विद्युतीय सवारी साधनको व्यापक प्रयोगले पेट्रोलियम पदार्थको परनिर्भरता घटाउँदै मुलुकको व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
साथै, कार्बन उत्सर्जन न्यूनीकरण, सहरी वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनका चुनौती सामना गर्न विद्युतीय सवारी निर्णायक बन्न सक्ने उनले बताए।
वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारीलाई केवल विकल्पका रूपमा नभई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिए।
कार्यक्रममा बोल्दै नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष सुरेन्द्र उप्रेतीले अटोमोबाइल क्षेत्र केवल सवारी साधनको व्यापारमा मात्र सीमित नरही उद्योग, बैंकिङ, बिमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको बताए।
उनले करका दर तथा नीतिहरूमा पटक पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन भएको उल्लेख गर्दै नीतिगत स्थिरताको माग गरे।
अध्यक्ष उप्रेतीले विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको बताउँदै नेपालमै एसेम्बल भइरहेका सवारी साधन र यसको स्थायित्वका लागि कम्पोनेन्ट उद्योगको स्थापनामा जोड दिए।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताए।
उनले नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको टिप्पणी समेत गरे।
अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै सो आयातबाट राज्यले ८१ अर्ब राजस्व संकलन गरेको उल्लेख गर्दै यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्ने बताए।
उनले वर्तमान सरकारले बन्द रहेका उद्योग खोल्ने तदारुकता देखाएकोमा टिप्पणी गर्दै सरकारले दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएकोे गुनासो गरे।
मंगलबारदेखि सुरू भएको अटो शो १४ भदौसम्म ६ दिन सञ्चालन हुने अटो शोमा अटोमोबाइलसम्बन्धी नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन र रोजगारीका विषयमा विशेष छलफल हुने नाडाले जनाएको छ।


