हिमाल दैनिक
अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्न जरुरी छः प्रधानमन्त्री दाहाल
IMG-2062
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्न जरुरी रहेको बताएका छन्। सोमबार काठमाडौंमा ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच मर्जर भई एकीकृत कारोवारको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने लगाएतका निर्णय गरिएको भन्दै अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताएका हुन्। अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने उनले बताए। प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार पनि आवश्यक रहेकाले यसतर्फ पनि सरकारको ध्यान गएको जानकारी दिए। उनले निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तिय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको उल्लेख गर्दै दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको धारणा व्यक्त गरे। उनले यसबाट देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे। त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकहरुले राष्ट्रिय उत्पादन बृद्धि गर्ने क्षेत्रमा लगानी गर्न आवश्यक देखिएको बताए। अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तिय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको धारणा राखे। त्यस्तै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए। उनले राज्य र जनताको अपेक्षाका आधारमा व्यवसायको प्राथमिकता निर्धारण गरेको भन्दै पर्यटन पूर्वाधार र सूचना प्रविधि लगाएतका क्षेत्रमा लगानी केन्द्रीत रहेको जानकारी दिए। एकीकृत ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ। दुवै बैंक एक बराबर एक अनुपातमा मर्ज भएका हुन्।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update