हिमाल दैनिक
नेकपा एसनिकट विद्यार्थीद्वारा शिक्षामन्त्री खनालको राजीनामा माग्दै पुत्ला दहन
Akhil cpn s
शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै नेकपा एकीकृत समाजवादी (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मन्त्री खनालको पुत्ला दहन गरेको छ। शुक्रबार बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्। प्रदर्शनकारीले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन्। भर्खरै चुनावअघि दर्ता भएर गत निर्वाचनमा काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटबाट निर्वाचित भएका खनाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सात दलीय गठबन्धन सरकारमा शिक्षामन्त्रीमा नियुक्त भएका थिए। शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन। प्रदर्शनमा सहभागी अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर कमिसन खानका लागि यस्तो निर्णय गरेको आरोप लगाए। पराजुलीले यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने दाबी गर्दै तत्काल उक्त निर्णय सच्याउन पनि माग गरे। अध्यक्ष पराजुलीले जनक शिक्षा सामग्री केन्द्रमा भएका अनियमिततालाई सुधार गर्नुको साटो निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाई गर्न दिएर जनक शिक्षा मास्ने बाटोतर्फ मन्त्रालय लागेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण समेत गराए। मन्त्रालयले तत्काल उक्त निर्णय फिर्ता नलिए अनेरास्ववियूले देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update