राजनीतिमा जवाफदेहीता, पारदर्शीता र भ्रष्टाचार विरोधी नारा लिएर गत चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रै मन्त्री पदका लागि करोडौँको डिल गर्न भएको अडियो सार्वजनिक भएपछि पार्टीले त्यसलाई ढाकछोपको असफल प्रयास सुरु गरेको छ।
रास्वपाबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्न सफल सांसद डा. ढाकाकुमार श्रेष्ठले गत माघ १ गते स्वास्थ्य मन्त्री बन्नका लागि अध्यक्ष लामिछानेलाई साढे २ करोड भेटी चढाउन भन्दै विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग गरेको टेलिफोन वार्ताको अडियो सार्वजनिक भएलगत्तै आइतबार उक्त पार्टीले सांसद श्रेष्ठको पार्टी सदस्यतासँगै सांसद पद समेत निलम्बन गरेको छ।
पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्ति अनुसार, स्वास्थ्य मन्त्री बन्न अध्यक्ष लामिछानेलाई पैसा दिनुपर्ने भन्ने सम्वादको टेलिफोन वार्ताका सम्बन्धमा तीन दिनभित्र सत्यतथ्य छानविन गरी केन्द्रयि समितिमा पेश गर्न पार्टी अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ।
यसरी उक्त सम्वादको विषयमा छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको ढकालले बताएका छन्।
साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न सांसद श्रेष्ठलाई निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।

गत चुनावमा पुराना दलविरुद्ध नो नट अगेनको नारा लिएर चुनावमा आमूल सुधारको डंका पिट्दै घण्टी चिन्हबाट अप्रत्यासित सफलता पाएलगत्तै गत पुस ११ गते तत्कालिन नेकपा एमाले–नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुन पुगेको रास्वपाबाट स्वास्थ्य मन्त्री बन्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने मेडिकल व्यवसायी प्रसाईसँग श्रेष्ठले तत्काल २ करोड रुपैयाँ व्यवस्था गिरिदिन आग्रह गरेको अडियो वार्तामा सुन्न सकिन्छ।
जसमा श्रेष्ठले उक्त पैसा लामिछानेलाई दिएको खण्डमा आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउने र त्यसपछिका दिनमा स्वास्थ्य मन्त्रालयबाट प्रसाईको मेडिकल कलेजमा सम्बन्धन दिने कुरा लगायतका विषयमा मिलेर काम गर्न सकिने बचनबद्धता व्यक्त गरेका छन्।
प्रसाई र श्रेष्ठको अडियो वार्ताले आसन्न उपचुनावमा उम्मेदवार बनेका लामिछानेसहित उक्त पार्टीका उम्मेदवारहरुको चुनावी मुद्दा र नारामा पनि खतराको घण्टी बजाइदिएको छ।
Sunday, Apr 09