हिमाल दैनिक
नक्कली शरणार्थी प्रकरणका दोषीलाई खुट्टा नकमाई कारबाही गर्नुपर्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने धारणा राखेका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबै दोषीलाई कारबाही गर्नुपर्ने भन्दै यसका लागि सरकार पछि हट्न नहुने बताएका हुन्।

उनले दोषीलाई बचाउन आउने जस्तोसुकै वा जस्तोसुकै उच्च तहबाट आउनसक्ने दबाब सामू कुनै पनि हालतमा नझुक्न सरकारलाई सुझाव पनि दिएका छन्।

विगत तीन साढे तीन दशकदेखि भुटानबाट खेदिएर नेपालको पूर्वी भूभाग झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीहरुमध्ये अमेरिका जान बाँकी शरणार्थीको सट्टा नेपाली नागरिकलाई झुटा विवरणमा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने क्रममा नेपालीहरुबाटै अत्याधिक ठूलो मात्रामा रकम असुल गरेको आरोपमा प्रहरीले तत्कालिन गृहमन्त्रीदेखि पूर्व गृहसचिव तथा उनीहरुका नातेदार र विचौलियामध्ये कतिपयलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ भने केही फरारको सूचिमा परेका छन्।

त्यस्तै अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भईसकेकाले र साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए।

उनले कोशी नामाकरण कुनै धर्म र संस्कृतिसंग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्ने धारणा राखे।

अध्यक्ष नेपालले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरि सरकारले काम गर्नुपर्ने पनि बताए।

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update