प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन्।
सत्ता र प्रतिपक्षीबिच भिजिट भिसा प्रकरणको विवादका कारण संसदको बैठक सुचारु हुन नसकेपछि संसद भवन नयाँ वानेश्वरबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो आक्षेप लगाएका हुन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ०६६ सालमा प्रधानमन्त्री रहेको बेला पतञ्जली योग पीठको नाममा रहेको काभ्रेको हदबन्दी भन्दा ज्यादा गैरकानूनी रुपमा व्यक्तिका नामा बिक्रीवितरण गर्न मन्त्रिपरिषदबाट निर्णय गराई राज्यलाई हानी नोक्सानी गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार नेपाल लगायत ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त विषयबारे प्रतिक्रिया दिने क्रममा अध्यक्ष दाहालले अख्तियारले मन्त्रिपरिषदको नीतिगत निर्णयमाथि यसअघि आफैँले गरेको व्याख्यासहितको पत्रको भावना विपरित छानविन र मुद्दा दायर गरिसकेपछि अन्य प्रधानमन्त्री र मन्त्रीहरु पनि छानविनको दायरामा आउनसक्ने स्थ्तिि उत्पन्न गराएको बताए।
अख्तियारको विगतको पत्रबारे उल्लेख गर्दै उनले भने, ‘पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा नितिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएको हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन। जे गर्नु छ क्याबिनेटले नै गरोस् भनेर चिठी लेखेको मैले आफैँले हेरेको छु, त्यो चिठी।’
ललिता निवासको जग्गा प्रकरणको विषयमा अख्तियारको पत्रबारे थप्दै उनले भने, ‘तर, अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगतै निर्णय हो, जे गरेको भएपनि। त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ। सायद अख्तियारले जवाफ देला।’
त्यसोभए गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणतर्फ पनि अख्तियारको छानविन र मुद्दा दायर हुन सक्छ भन्ने प्रश्नको जवाफमा दाहालले भने, ‘अब यो नै स्टाब्लिस हुने हो भने त अब... हामीले त फेरि त्यही कुरा भनेका छौँ। ०६४ देखि नै सबै प्रधानमन्त्री, गृहमन्त्री सबैको पनि छानविन होस् भन्ने हामीले भनेका छौैँ।’
मन्त्रिपरिषदको नीतिगत र सैद्धान्तिक निर्णयमाथि अख्तियारको प्रवेशबारे उनले थप्दै भने, ‘यसले के गर्छ भने, यसो हो भने कोही पनि छानविनको दायराभित्र आउनसक्ने भयो। तर यो नीतिगत र सैद्धान्तिक रुपले ठिक हो कि होइन भन्ने बहस गर्न जरुरी छ।’
पतञ्जलीको जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेलगत्तै सांसद पदबाट समेत निलम्बनमा परेका नेता नेपालको विषयमा चर्चा गर्दै दाहालले यस घटनाले स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा बताएको बताए।
त्यसका अतिरिक्त नेता नेपालले आफूलाई अदालतप्रति भरोसा रहेको र अदालतले न्याय दिने भन्ने कुरामा विश्वस्त रहेको उल्लेख गर्दै दाहालले भने, ‘उहाँले भन्नु भएको छ, म छिट्टै सफाई पाएर फर्किन्छु।’
आफूले पनि यस प्रकरणमा अदालतले पक्कै पनि नेपालमाथि न्याय नै गर्छ भन्ने ठानेको बताउँदै थपे, ‘तर, कुरा के छ भने, प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ। र अख्तियारले पनि कहिँ न कहिँ एउटा प्रश्न गम्भीर प्रश्न जन्माएको छ।’