हिमाल दैनिक
मेरो राजनीतिक करियर समाप्त पार्न ओलीकै निर्देशनमा अख्तियारले मुद्दा दायर गर्योः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको दाबी गरेका छन्। 

पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियारले भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा बिहिबार मुद्दा दायर गरे लगत्तै गृहजिल्ला रौतहटमा रहेको अध्यक्ष नेपालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अख्तियारको कदमप्रति गम्भीर प्रश्न उठाएका हुन्।

नेपालले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने केपी ओलीको नियत नै रहेको भन्दै अहिले पनि ओली कै निर्देशनमा आफुबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आरोप लगाए।

नेकपा एसकै नेता राजेन्द्र पाण्डेले ओलीकै निर्देशनमा नेपालविरुद्ध मुद्दा दायर भएको भनि दिएको प्रतिक्रियाबारे सोधिएको प्रश्नको जवाफमा उनले थप्दै भने, ‘अब त्यो त हो। सिधा कुरा हो। उहाँ मेरो विरुद्धमा सुरुदेखि नै लाग्नु भएको पनि हो। मेरो राजनीतिक केरियरलाई समाप्त पार्ने उहाँको नियतै हो। पहिले पनि यस्तो किसिमको कोशिश पटक पटक गर्नु भएकै हो,’ भन्दै ओली भनेको बदलाको भावनाले चल्ने मानिस भएको बताए।

अध्यक्ष नेपालले पतञ्जली जग्गा हिनामिना प्रकरणमा खराव नियतका साथ आफुले कुनै काम नगरेको दावी गर्दै आफूले यसबारे कसैमाथि पनि आरोप लगाउन भने नचाहेको बताए।

उक्त विषयमा कसैमाथि आरोप लगाउनु उचित हुँदैन भन्दै तर, आफू कुनै पनि खराब नियतबाट लाभ उठाएर, भ्रष्टाचार गरेर कुनै पनि कामको निम्ती आदेश दिने काम आफूबाट हुँदै नभएको दाबी पनि गरे।

आफू भ्रष्टाचारजन्य क्रियाकलापको सधै विरुद्धमा रहेको बताउँदै आफ्नाविरुद्धमा दर्ता भएको मुद्दाको सवालमा आफु कानूनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए।

 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update