हिमाल दैनिक
पतञ्जलीको जग्गाबारे अध्यक्ष नेपालले दिए अदालतमा वयान, थुनछेकको बहस सुरु हुँदै

पतञ्जली योगपीठको जग्गा अपचलनको आरोप लागेका नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग विशेष अदालत काठमाडौंमा उपस्थित भइ न्यायाधीशसमक्ष वयान दिएका छन्।

पतञ्जलीको नाममा जग्गा खरिद गरी सरकारी जग्गा व्यवसायीक कारोबारका लागि बिक्री वितरण गर्न मन्त्रिपरिषदबाट अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको प्रारम्भिक चरणमा बुधबार अध्यक्ष नेपाल विशेष अदालतमा उपस्थित भएका थिए।

विशेष अदालतको दुई नम्बर इजलासमा परेका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा सुरु भएको वयान अपरान्ह २ बजेतिर सकिएको छ। 

नेपालसँग न्यायाधीशहरुले वयान लिने क्रम सकिएलगत्तै आजै उनीविरुद्ध धुनछेकको बहस सुरु हुँदैछ। 

पूर्वप्रधानमन्त्री नेपालको पक्षबाट अदालतमा बहसका लागि नेपालका गनेचुनेका वरिष्ठ कानून व्यवयासीहरुको लर्को नै लागेको छ। 

नेपालको पक्षमा बहसका लागि पूर्व कानूनमन्त्री समेत रहेका गोविन्द बन्दीदेखि वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमणकुमार श्रेष्ठ, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञावाली, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का लगायत करिब १२० जना कानून व्यवसायीले वकालतनामा भरेका छन्।

आजै अपरान्ह खाजा समयपछि हुन लागेको थुनछेकको बहसमा सबै कानून व्यवसायीले बहस गर्दा समय बढी लाग्ने देखिएपछि अहिले उनीहरुमध्ये केही प्रमुख कानून व्यवसायीले मात्रै बहस गर्दै सम्भवत् आजै नेपालको विषयमा धुनामा पठाउने अथवा सामान्य तारिख वा धरौटीमा छाड्ने आदेश हुन सक्नेछ। 

नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेर विशेष अदालतमा वयान लिने क्रमको सम्भवत् यो नै पहिलो उदाहरण हो।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update