हिमाल दैनिक
एमालेद्वारा दाहाललाई लेण्डुप दोर्जेको नेपाली संस्करणको संज्ञा, दाहालको राजीनमा माग्दै संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको विवादस्पद अभिव्यक्तिलाई लिएर उनको राजीनामा नआउँदासम्म सदन चल्न नदिने भन्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ।

भारतीय व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले गत सोमबार दिएको अभिव्यक्तिलाई देशको स्वाभिमान र सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि आँच आँउने अभिव्यक्तिको संज्ञा दिँदै एमालेले दाहालको राजीनामा माग गरेपनि सदनको कारबाही सभामुख देवराज घिमिरेले अघि बढाउन खोजेपछि राप्रपाले वेल घेर्न पुगेको छ।

अपरान्ह ३ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक करिब १ घण्टा ढिलो गरी सुरु भएलगत्तै एमालेसहितका विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाए।

त्यसपछि सभामुख घिमिरेले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिए।

सांसद पन्तले दाहालको पछिल्लो अभिव्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउने व्यवसायी सिंह पटक पटक भारतको राजधानी दिल्ली गएको भन्ने अभिव्यक्तिले देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमाथि आघात भएको दाबी गरे।

उनले भने, ‘देशको प्रधानमन्त्री बन्न त जनतामाझ जानु पर्ने हो तर, दाहालले प्रधानमन्त्री बन्नका लागि दिल्ली गएको भन्ने अभिव्यक्ति घोर आपत्तिजनक छ। नेपालको प्रधानमन्त्री जनताबाट निर्वाचित संसदले बनाउने हो कि दिल्लीले?’ भन्ने प्रश्न गर्दै उनले भने, ‘दिल्ली धाउने व्यक्ति हाम्रो प्रधानमन्त्री हुन सक्दैन।’

उनले दाहाललाई सिक्किमका पूर्वमुख्यमन्त्री लेण्डुप दोर्जेको नेपाली संस्करणको संज्ञा दिँदै तत्काल पदबाट राजीनामा नदिएसम्म सदन चल्न नसक्ने अडान लिए।

त्यसपछि सभामुखले माओवादी सांसदलाई बोल्न समयदिएपछि एमाले भन्दा अगाडि नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरुले वेल घेराउ गरे।

रास्वपासहित एमालेका सांसदहरु उभिएर विरोध जनाउँदा पनि माओवादी सदस्यले बोल्ने क्रम नरोकिएपछि विरोध र नाराबाजी सुरु हुन लाग्दा सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरे।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update