हिमाल दैनिक
प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैनः परराष्ट्र मन्त्री साउद

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको तयारी भइरहेपनि उक्त भ्रमणको एजेण्डा भने अहिलेसम्म तय भइनसकेको जानकारी परराष्ट्रमन्त्री एनपी साउदले दिएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा कार्यान्वयन गर्न सकिने परियोजनाबारे छलफल गर्ने तयारी भएपनि औपचारिक रुपमा एजेण्डा तय नभएको बताएका हुन्।

मन्त्री साउदले चीनले नेपाललाई सहयोग अनुदान गर्दै परियोजनामा रकम विनियोजन हुन नसकेको र विनियोजनका लागि अर्थ मन्त्रालयसँग गम्भीर गृहकार्य गरिरहेको पनि जानकारी दिए।

्मन्त्री साउदले चीन भ्रमणका बेला नेपालसंग जोडिएका नाकालाई सहज रुपमा सञ्चालनका लागि पनि छलफलको एजेण्डा बनाउने तयारी भएको बताए।

त्यस्तै उनले नेपालको संसदले पारित गरेको नयाँ नक्साको सम्मान चीनले गर्नुपर्ने सरकारको धारणा रहेको बताए।

करिब तीन वर्ष अघि नै प्रतिनिधि सभाको बैठकले सर्वसम्मत पारित गरेको नेपालको नयाँ नक्सा औपचारिक रुपमा जारी भइसकेपछि पनि त्यस बिषयमा चीनलाई जानकारी गराएको औपचारिक रेकर्ड फेला पर्न नसकेको उनले जानकारी दिए।

चीनलाई पत्राचार गरिएको जानकारी आए आफु आभारी हुने समेत उनले बताए।

बैठकमा सांसदहरुले नयाँ नक्साका बारेमा अन्य राष्ट्रहरुलाई जानकारी गराइएको बिषयमा मन्त्री साउदसंग प्रश्न गरेका थिए। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको नक्साका बारेमा चीनलाई जानकारी गराएको विषयमा वर्तमान परराष्ट्रमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको कुरा बाझिएको भन्दै सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद बर्षमान पुन अनन्तले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा अन्य मुलुकमा पत्राचार गरेको बिषयमा भएको कमीकमजोरीका बारेमा समितिमा जानकारी गराउनुपर्ने बताए।

उनले नेपालको आन्तरिक मामिलामा कुनै पनि राजदूतले टिप्पणी गर्ने परम्परा बस्न दिन नहुने धारणा राखे।

त्यस्तै अन्य सांसदहरुले चीनको नक्सामा नेपालको पुरानै नक्सा राखिएको बिषयमा कुटनीतिक तवरले वार्ता गर्नुपर्नेमा जोड दिएका थिए। मन्त्री साउदले भने यस बिषयमा मन्त्रालयले कुटनीतिक नोट जारी गरिएको जानकारी गराएका थिए।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update