हिमाल दैनिक
कतारका अधिकारीसँग विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री साउदको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाईका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।

पेलिस्टाइनी भूभाग गाजा स्ट्रिपको विद्रोही समूह हमासले गत अब्टोबर ७ का दिन अचानक इजराइली भूभागमा प्रवेश गर्दै अन्धाधुन्ध बमबारी र गोली चलाउँदै कैयन व्यक्तिको हत्या गरी २ सय ज्यादा नागरिकलाई बन्धक बनाउने क्रममा त्यहाँ रहेका जोशी पनि हमासको नियन्त्रणमा रहेको आशंका गरिएको छ। त्यसको जवाफमा इजराइलले गरेको शैनिक कायरबाहीमा गाजा क्षेत्रमा उत्पन्न संकट समाधानका लागि कतार लगायत खाडी मुलुकका राष्ट्रहरुले युद्द विरामको पहल जारी राखेका थिए।

यही क्रममा हालै हमाले रिहा गर्न लागेको भनिएका ५० जनाको समूहसँगै जोशीलाई पनि रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाईका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रसंसा गरेका थिए।

यस अघि बिहीवार मन्त्री साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।

भेटका क्रममा उनीहरुबीच रोजगारी, ब्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update