हिमाल दैनिक
नेकपा एसको राष्ट्रिय महाधिवेशनको मिति जेठमा!

नेकपा एकीकृत समाजवादी (एस)को पूर्वनिर्धारित महाधिवेशन मिति सरेर जेठमा पुगेको छ।

पार्टी कार्यालय आलोकनगरमा बसेको नेकपा एसको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

करिब २ वर्षअघि नेकपा एमालेभित्रको आन्तरिक विवादका कारण माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले गठन गरेको नेकपा एसले यसअघि आगामी माघको १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।
तर, हिँजोदेखि सुरु भएको सचिवालय बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनसँगै जाजरकोट र रुकुम–पश्चिममा हालै गएको भूकम्पका कारण महाधिवेशन सार्ने निर्णय गरिएको समाजवादीले जनाएको छ।

त्यस्तै बैठकले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ। राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको खतिवडाले जानकारी दिए।

बैठकले विधानमा छलफल गर्न कार्यदल गठन, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि समिति गठन गरिएको खतिवडाले बताए।

त्यस्तै मंसिर २८ र २९ गते सचिवालयको बैठक, पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने खतिवडाले बताए।

प्रचार विभाग प्रमुख खतिवडाले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि नेकपा एसलाई गाली गरेपनि त्यसले कुनै असर नपर्ने दाबी समेत गरे।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update