हिमाल दैनिक
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसमक्ष मन्त्री साउदको पुनः आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अज्ञात अवस्थामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग पुनः आग्रह गरेका छन्।

परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेको मन्त्री साउदको सचिवालयले जनाएको छ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिएका थिए।

साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताएका थिए।

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने,  ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौँ।’

मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने जानकारी साउदको सचिवालयले दिएको छ।

मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायतका विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update