हिमाल दैनिक
गठबन्धन भत्काउन एमालेको छिर्के दाउः सभापति देउवाले के दिन्थे भाउ!
Photo: RSS

राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये सत्ता गठबन्धनबीचको सम्भावित तालमेलका कारण कुनै पनि सिट आफ्नो हातमा नपर्ने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘फुटाउ र राज गर’को नीतिको असफल प्रयास जारी राखेको छ।

संविधानको व्यवस्था बमोजिम रिक्त हुने २० मध्ये सात प्रदेशबाट १९ सदस्यका लागि माघ ११ गते हुन लागेको निर्वाचनपूर्व एमाले नेतृत्वले वर्तमान सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससमक्ष मिलेर जान प्रस्ताव गरेको समाचार बाहिर ल्याएर गठबन्धनका अन्य सहयात्री दल तथा नेताहरुमाझ आशंका फैलाउने प्रयास गरेको छ।

लामो समयदेखि संसदमा विचाराधिन सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग सम्बन्धी कानून सदनबाट छिटो पारित गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए।

उक्त बैठकमा संसदको हिउँदे अधिवेशन छिट्टै बोलाएर उक्त अधिवेशनबाट शान्ति प्रक्रियाका बाकी काम टुंग्याउने विषयमा भएको छलफलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सभाको २० सिटमध्ये १३ सिट लिएर बाँकी ७ सिटमा एमालेलाई साथ दिन प्रस्ताव गरेको समाचार बाहिर आएको थियो।

जसको कारण सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी लगायतका अन्य दलका नेताहरुमाझ कांग्रेस र एमालेबीच चुनावी तालमेल र नयाँ सत्तासमिकरण हुने पो हो कि भन्ने आशंका जन्माएको थियो।

तर, कांग्रेस सभापति देउवाले वर्तमान गठबन्धनका सहयात्री दलहरुलाई छाडेर एमाले अध्यक्ष ओलीसँग चुनावी तालमेल वा सत्ताको सहयात्रा गर्ने सम्भावनाको प्रस्तावलाई ठाडै अस्विकार गरिदिएको स्रोतको दाबी छ।

वर्तमान सत्ता साझेदार दलबीच भएको आन्तरिक सहमति र गृहकार्यका आधारमा माघ ११ गते हुने १९ सिटको चुनावमा सत्ता साझेदार प्रमुख चार दलबीच सहमतिका आधारमा सिट बाँडफाँट गर्दा कांग्रेसले करिब ९ स्थान पाउने मोटामोटी सहमति भएको बताइन्छ।

कांग्रेसको भागमा परेको ९ सिटको बदलामा एमालेले कुनै पनि सिट नपाउने अवस्थालाई टार्न १३ सिट दिएर ७ सिटमा आफूलाई सुरक्षित राख्न खोजेपनि सभापति देउवाले एमालेसँगको सहकार्य र सहयात्रालाई तत्कालका लागि स्वीकार गर्ने कुनै सम्भावना छैन।

देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहानको छलफलमा मुख्यतयः शान्ति प्रक्रियासँग सम्बन्धित कानून टुंग्याउनेबारे कुरा भएपनि राष्ट्रिय सभाको चुनावमा एमालेसँग सिट बाँडफाँटको कुनै कुरा नभएको र यदी ओलीले त्यस्तो प्रस्ताव राखेको भएपनि सभापति देउवाले स्वीकार गर्ने कुरै नभएको प्रतिक्रिया दिए।

एक वर्षअघि सम्पन्न निर्वाचन लगत्तै तत्कालिन सत्ता गठबन्धनबाट माओवादी अध्यक्ष दाहाललाई अलग्याएर आफ्नो समर्थनमा संघदेखि प्रदेश तहसम्मै सत्ताको भागवण्डा लिएको थियो। तर, ओलीकै रवाफ र प्रभावका कारण माओवादी अध्यक्ष दाहालले ओलीसँगको सहयात्रालाई २ महिनामै अन्त्य गर्दै पुनः कांग्रेस, माओवादीको सत्ता गठबन्धनलाई अघि बढाएका थिए।

त्यसपछिका दिनमा सत्ताबाट पाखा लाग्न पुगेको एमालेले पछिल्लो पटक कोशी प्रदेशको मुख्यमन्त्री पदको निर्वाचन प्रक्रियामा सत्ता गठबन्धनबिच दरार पैदा गर्न सफल भएको थियो। जसको आधारमा कांग्रेससहितको गठबन्धन नेतृत्वले गरेको निर्णय विपरित कांग्रेसकै अल्पमत पक्षका नेता केदार कार्कीलाई एमालेले साथ दिँदै मुख्यमन्त्री बनाएको थियो।

यसका अतिरिक्त एमालेका कतिपय नेताहरुले केन्द्रीय सरकारमा पनि कांग्रेसको अल्पमत पक्षका नेता शेखर कोइराला र उनी निकट नेताहरुलाई वर्तमान गठबन्धन तोडेर एमालेको साथमा नयाँ सरकार बनाई अघि बढ्न प्रस्ताव गरिरहेको बताइन्छ।

यसका बाबजूद कांग्रेसको नेतृत्व वर्तमान गठबन्धन छाडेर एमालेसँगको सहयात्रामा जान तयार नभएपछि पछिल्लो समय एमालेका कतिपय नेताहरुले सत्ता गठबन्धनका अन्य घटकबीच अविश्वासको खाडल खन्न प्रयास गर्दैछन्।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update