हिमाल दैनिक
संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक परे अध्यादेश ल्याउन समाजवादी मोर्चाको सुझाव
file photo

समाजवादी मोर्चा नेपालले संघीयताको सफल कार्यान्वयनका लागि संविधानमा भएका अनुसूचिलाई व्यवस्थित गर्दै त्यसको व्यवहारिक कार्यान्वयनका लागि अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समाजवादी मोर्चाले संविधान प्रदत्त अधिकार प्रदेशले नपाउँदा संघीयता विरोधी शक्तिहरुविरुद्ध लड्न प्रदेश कमजोर भएको भन्दै संघीयतालाई मजबुत बनाउन कानूनको अभाव भए अध्यादेश ल्याएर भएपनि प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्ने मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको मोर्चामा सहभागी दल जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

बैठकमा मोर्चाले हालसम्म गरेका कामहरूको समीक्षा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको थियो। यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको बताइएको छ।

सरकारमा सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने चित्रहरू देखिएको भन्दै बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले असन्तुष्टि प्रकट गरे।

बुधबार साँझ ६ बजे पुनः बस्ने गरी समाजवादी मोर्चाको बैठक सकिएको छ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update