हिमाल दैनिक
राष्ट्रिय सभामा ५ दलबिच सीटकाे बाँडपफाँट, कांग्रेसलाई १०, माओवादीलाई ६ एसलाई २ जसपालाई १ स्थान

फागुन २० मा रिक्त हुन लागेका राष्ट्रिय सभाका २० स्थानमा सत्ता सत्तारुढ गठबन्धनमा सहभागी ५ दलले सीट बाँडफाँट गरी साझा उम्मेदवार प्रस्तुत गर्ने भएका छन्।

संविधानको प्रावधान बमोजिम ६ वर्षे कार्यकाल समाप्त गरी विदा हुँदै गरेका विभिन्न प्रदेश र राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने १९ तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक गरी २० सांसद पदको सत्ता साझेदार दल तथा सरकारको समर्थनमा रहेको दलसहित ५ दलले भागवण्डा गरेका हुन्।

विशेषगरी माघ ११ गते १९ सिटका लागि हुन लागेको निर्वाचनको मनोनयन दर्ता मिति नजिकिँदै जाँदा आइतबार अपरान्ह सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेता तथा पदाधिकारीहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनका सहयात्री दलबीच आपसी सहमतिमा साझा उम्मेदवार दिने निर्णय बमोजिम सीट बाँडफाँटको विषय टुंगिएको हो।

बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कांग्रेसले १०, नेकपा माओेवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउनेगरी सहमति भएको जानकारी दिए।

यसरी सत्ता साझेदार दलबीच सहमतिका आधारमा साझा उम्मेदवार प्रस्तुत हुँदा सात प्रदेशबाटै गठबन्धनका साझा उम्मेदवार सहजै विजयी हुने सम्भावना बढेको मात्र होइन, हालका ९ सांसदलाई विदा गर्दै गरेको प्रमुख विपक्षी दल नेकपा एमालेले कुनै पनि स्थानमा आफूलाई सुरक्षित राख्न नसक्ने स्थितिको निर्माण हुँदैछ।

लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केहि स्थानका लागि पनि छिटै टुंगो लाग्ने जानकारी दिए।

फागुन २० गते रिक्त हुन लागेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक महिला सदस्यको स्थानमा गठबन्धनले सरकारको समर्थनमा मत दिएको मोहनबिक्रम सिंहको पार्टीबाट उनैकी धर्मपत्नी दुर्गा पौडेललाई राष्ट्रिय जनमोर्चाको तर्फबाट सिफारिस गर्ने आन्तरिक सहमति भएको स्रोतले बतायो।

सिट बाँडफाँटमा सहमति भएसंगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी भइरहेको उनले बताए।

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update