हिमाल दैनिक
कांग्रेसले ६ स्थानमा अन्य, २ महिला र २ अपाङ्ग/अल्पसंख्यक समूहका उम्मेदवार छनौट गर्दै

सत्ता गठबन्धनमा सहभागी दलहरुबीचको सहमति पश्चात नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा १० स्थानमा उम्मेदवारी दिने तयारी गरिरहेको छ।

आइतबार अपरान्ह गठबन्धनका नेताहरुबीच भएको सीट बाँडफाँटको सहमति अनुसार, कांग्रेसले सातै प्रदेशमा एक/एक स्थान नबिराईकन तीन वटा प्रदेशमा थप एक एक जनाको दरले उम्मेदवारी दिने भएको हो।

गठबन्धन बैठकमा सहभागी एक नेताका अनुसार, अन्य र महिला गरी दुई सीट खाली हुँदै गरेका कोशी, मधेस र लुम्बिनीमा कांग्रेसले क्रमशः कोशी र मधेसबाट अन्य समूह तथा लुम्बिनीमा महिला समूहको स्थान पाएको छ भने, बागमतीमा रिक्त रहेका ४ स्थानमध्ये एक अन्य तथा एक महिला गरी दुई स्थानमा तथा गण्डकी र सुदूरपश्चिममा एक अन्य र एक अपाङ्ग वा अल्पसंख्यक समुदायको उम्मेदवारी दिने छ।

कर्णालीका रिक्त हुँदै गरेका तीन मध्ये एक स्थानमा मात्रै उम्मेदवारी दिने अवसर पाएको कांग्रेस अन्य समूहमा उम्मेदवारी दिन बताइएको छ।

यसरी गठबन्धनमा भएको सहमति पश्चात टुंगो लागेको समूहबाट पार्टीको उम्मेदवारी चयन गर्ने प्रक्रियाका लागि कांग्रेसले आज अपरान्ह १ बजेका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अपरान्ह ४ बजेका लागि सरेको छ।

बैठक बस्नुअघि कांग्रेसभित्रको संस्थापन र अल्पमत पक्षका नेताहरुबीच अनौपचारिक छलफल र सहमति पश्चात सम्भवत् आजै उम्मेदवारहरुको नामावली पनि मोटामोटी तय हुने बताइएको छ।

यसका लागि कोशी प्रदेशबाट कांग्रेसले पार्टी नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने पक्कापक्की रहेको छ भने, मधेसको अन्य समूहमा पार्टी नेता आनन्दप्रसाद ढुंगानासँगै सहमहामन्त्री फर्मूल्लाह मन्सुरको दाबी अग्रस्थानमा रहेको छ।

लुम्बिनीको महिला कोटामा पार्टी नेतृ पुष्पा भुषालको तथा सुदूरपश्चिम प्रदेशमा अन्यबाट बलदेव बोहोरा र अल्पसंख्यक कोटामा नारायणदत्त भट्टको नाम अग्रस्थानमा रहेको छ भने बागमती, गण्डकी र कर्णालीका ५ उम्मेदवारमध्ये कुन कोटा कसको भागमा जाने हो अझै टुंगो लागिसकेको छैन।

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update