हिमाल दैनिक
राष्ट्रिय सभामा कांग्रेस–एमालेका १८ जना नयाँ अनुहारको प्रवेश, कांग्रेस पहिलो दल बन्दै

राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन्। 

आइतबार सातै प्रदेशमा १७ पदका लागि भएकाको मतदानका कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरुले सबै प्रदेशमा बिजयी भएका हुन्। 

आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ सदस्यको स्थानमा पदपूर्तिका लागि निर्वाचन आयोगले गरेको निर्वाचन प्रक्रियामा कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
बाँकी १७ स्थानमा आइतबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार, कोशी प्रदेशबाट दुई स्थानमा एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भए।

त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर बिजयी भएका छन्।

त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका प्रेमप्रसाद दंगाल विजयी भए।

यसैगरी गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भए भने लुम्विनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भए।

त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भइन् भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती बिजयी भए।

संविधान र कानूनको प्रावधान अनुसार, प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको कार्यकाल समाप्त हुने प्रक्रिया बमोजिम फागुन २० गते राष्ट्रिय सभाका १८ जना प्रदेशबाट दलीय मतभारका आधारमा र एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका पूर्व एमाले नेता वामदेव गौतमसहित १९ जनाको कार्यकाल सकिँदैछ। 

पछिल्लो निर्वाचन परिणाम अनुसार, राष्ट्रिय सभामा फागुन २० गतेपछि कांग्रेसका ९ सदस्य थपिएर २५ पुगेपनि सुदूरपश्चिम प्रदेशबाट यसअघि निर्वाचित कांग्रेस सदस्य बलदेव बोहोराको निधनपश्चात २४ जनामा झर्दैछ। 
उता, दोस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी रहने छ भने एमाले तेस्रो दलका रुपमा रहने छ। 

प्रकाशित मिति: सोमबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update