हिमाल दैनिक
गठबन्धनका दलबिच भागवण्डा मिल्यो, मिलेन कांग्रेसभित्रको गुटगत भागवण्डाः कोइराला समूहका नेताहरु छलफलमा

सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रिय सभा सदस्यकोे निर्वाचनमा सीट बाँडफाँटको कुरा मिलेपनि प्रमुख साझेदोर दल नेपाली कांग्रेसभित्र आन्तरिक सहमति नहुँदा अपरान्ह ४ बजेका लागि डाकिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रभावित हुने सम्भावना बढेको छ।

रिक्त हुन लागेका १९ सीटमध्ये १० सीटमा उम्मेदवारी दिने सहमति गराएको कांग्रेस नेतृत्वले आन्तरिक शक्ति सन्तुलनका आधारमा भागवण्डा मिलाउन सकस भएपछि अहिले पार्टी नेता शेखर कोइराला नेतृत्वको अल्पमत समूहका नेताहरु छलफलमा जुटेका छन्।

गठबन्धनमा सहमति हुनुअगावै आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका कोइराला र महामन्त्री गगनकुमार थापाले कांग्रेसको भागमा परेका १० स्थानमध्ये आफ्नो समूहले कम्तिमा चार स्थान पाउनु पर्ने माग गरेका थिए।

आवरणमा पार्टी निर्णय बमोजिम योग्य, क्षमतावान र अवसर नपाएका पार्टीमा निरन्तर क्रियाशील तथा राष्ट्रिय सभामा योगदान पुर्याउन सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने भनि अडान सभापति देउवासमक्ष राखेपनि वास्तविकतामा भागवण्डा गर्दा आफ्नो समूहलाई ४० प्रतिशत सीट दिनुपर्न अडान लिएका थिए।

तर, सभापति देउवाको नाममा जोडिएर उम्मेदवारको सूचिमा विशेष चर्चामा रहेका कोशीका कृष्णप्रसाद सिटौलादेखि सुदूरपश्चिममा चर्चामा रहेका उम्मेदवारहरुको नामावलीको सूचि हेर्दा कोइराला समूहको भागमा मुस्किलले तीन स्थान पनि पर्ने वा नपर्ने पत्तो नभएपछि अहिले नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारका अतिरिक्त उक्त समूहका नेताद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीलाई कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा बोलाएका छन्।

उक्त बैठकमा नेताहरुबीच भएको छलफल पश्चात उक्त समूह कार्यसम्पादन समिति बैठकमा जाने छन्।  

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update