हिमाल दैनिक
विगतकै परम्परालाई कायम राख्दै अन्तिम समयमा टुंग्यायो कांग्रेसले उम्मेदवारहरुको सूचि

विगतकै परम्परा र शैलीलाई निरन्तरता दिँदै नेपाली कांग्रेस पार्टीले मनोनयन पत्र दर्ता गर्नु केही घण्टा अगाडि मात्रै आसन्न राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ।

आइतबार अपरान्ह सत्ता गठबन्धनमा सहभागी दलका प्रमुख नेताहरुबीच भएको सीट बाँडफाँटको टुंगो लागे लगत्तै अपरान्ह पार्टी मुख्यालय सानेपामा पुगेका कांग्रेस सभापति, पदाधिकारी लगायत केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरु रातभरी बसेर बिहानीपख मात्रै पार्टीको कोटामा परेका १० उम्मेदवारहरुको नामावली टुंगो लगाएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीच टिकट बाँडफाँटको विषयमा भागवण्डाको रस्साकस्सी चलिरहँदा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने निर्णय प्रक्रियामा विमति दर्ज गर्न समेत पछि परेनन्।

यसका बाबजूद पनि अन्त्यमा कांग्रेसले आफ्नो भागमा परेको कोशी प्रदेशको अन्य समूहबाट पार्टी नेता कृष्णप्रसाद सिटौला, मधेस प्रदेशबाट आनन्दप्रसाद ढुंगाना, वागमती प्रदेशबाट जीतजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारको नाम टुंगो लगायो।

यसैगरी लुम्बिनी प्रदेशको महिला कोटामा सभापति देउवाले पूर्व उपसभामुख पुष्पा भुसालको नाम अघि सारेपनि अन्तिम समयमा कोइराला पक्षको अडानका कारण उनको सट्टा गुल्मीकी विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशमा बलदेव बोहोरा र नारायणदत्त भट्टको नाम अनुमोदन गरियो।

कांग्रेसका युवा पदाधिकारी तथा नेताहरुले पार्टीभित्र विधि, विधान र संस्थागत निर्णयसँगै रुपान्तरणको नारा लगाउँदै आएपनि व्यवहारमा आन्तरिक भागवण्डाकै विषयमा गएर बल्झिएको थियो।

जसको कारण पार्टी सभापति देउवा र महामन्त्री लगायतका पदाधिकारीहरुले यो मेरो र त्यो तेरो मान्छे भन्ने दहलफसलमै रात मात्रै विताएनन् कतिपय आकांक्षीलाई आफ्नो कित्तामा कहिल्यै फर्किन नसक्ने गरी भित्ता लगाए भने कतिपयलाई रातभरी आशा देखाएर बिहानीपख निराश पार्दै घर फर्काए।

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update