हिमाल दैनिक
मेलम्ची खानेपानी आयोजना उद्घाटनको नयाँ संस्करण प्रधानमन्त्री दाहालद्वारा सम्पन्न

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व खानेपानी मन्त्री उमाकान्त चौधरीले पटक पटक उद्घाटन गर्दै आएको मेलमची खानेपानी आयोजनाको नयाँ उद्घाटन संकरण प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्पन्न भएको छ।

सोमबार सिंहदबारमा मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भका नाममा प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रममा दाहालले दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने बताए।

साथै उनले मेलम्ची खानेपानी आयोजनालाई दीगो रुपमा संचालन गर्ने विषयमा सरकारले प्राथमिकतामा राखेको बताए। दाहालले आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको बैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशनसमेत दिए।

करिब तीन दशक अघिदेखि काठमाडौंवासीले व्यहोर्दै आएको खानेपानी अभावको समस्या समाधानका लागि चर्चामा आएको मेलम्ची ड्रिम परियोजनाको यसअघि राष्ट्र प्रमुखदेखि सरकारका प्रधानमन्त्री र मन्त्रीले उद्घाटन गर्दै समस्या तत्काल समाधान भइहाल्छ भन्दै आएपनि अहिलेसम्म पनि उपत्यकावासीको समस्या अझै पनि समाधान हुन सकिरहेको छैन।

प्रधानमन्त्री दाहालले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अगाडि बढाइने बताए।

प्रधानमन्त्री दाहालले अर्को चरणमा नयाँ वितरण सञ्जालमार्फत काठमाडौँ उपत्यकाभित्र खानेपानी वितरणको थालिने बताए।

उनले तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ताको धारामा वितरण गरिने व्यवस्था मिलाउनसमेत निर्देशन पनि दिए।

त्यस्तै खानेपानी मन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनालाई बाह्रै महिना निरन्तर सञ्चालन गर्न तथा याङ्ग्री र लार्के खोलाको पानी ल्याएर सहज पानी आपूर्ति गर्ने बताए।

उनले काठमाडौँ उपत्यकामा खानेपानीको बैकल्पिक व्यवस्था गर्न सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको पानी ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए।

मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ भएसंगै  अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण सुरु भएको छ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो। गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो। कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update