हिमाल दैनिक
निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च छः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको दाबी गरेका छन्।

साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रको तीन दिने तयारी बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले सबै प्रकारका हतियारको नियन्त्रण एवं अप्रसारमा नेपालले जोड दिँदै आएको बताए।

नेपाल सरकार र शान्ति एवम् निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको तयारी बैठकमा मन्त्री साउदले साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनु पर्नेमा पनि जोड दिए।

‘साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनु पर्दछ,’ परराष्ट्रमन्त्री साउदले थप्दै भने,  ‘यसका लागि क्षेत्रीय एवम् आन्तराष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनु पर्दछ।’

हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमन–चयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकरात्मक प्रभाव पर्न जाने उनको भनाइ थियो।
निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधिहरु सहभागी बैठकमा परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि दोहो¥याइन्।

बुद्धको जन्मस्थान, शान्ति भूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाई थियो।

साना हतियारको अवैध व्यापार नियन्त्रण सम्बन्धी राष्ट्रसंघीय कार्ययोजना सन् २००१ मा अनुमोदन भएयता राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रयासहरु भए पनि अवैध हतियारको ओसार–पसार र प्रयोग घटाउन तथा नियन्त्रण गर्न नसकिएको पनि मन्त्री साउदले बताए।

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update